काठमाडौं ।
सभामुख देवराज घिमिरेले संघीय संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनु आफुले निरन्तर प्रयास गरिरहेको बताउनु भएको छ । रेडियो कार्यक्रम ‘संसद र सांसद’सँग कुराकानी गर्दै सभामुख घिमिरिले आफुले संसदलाई प्रभावकारी बनाउन आफु संसद सञ्चालनको चौध महिना हरसम्भव प्रयत्न गरेको दावी गर्नुभयो ।
सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउन संसद सरकार, राजनीतिक दल, सांसद, संसदीय सचिवालय सबैको उत्तिकै भूमिका हुनुपर्ने बताउनुभयो । सरकारमा भइरहेको फेरबदलका कारण पनि संसदलाई चाहेजस्तो प्रभावकारी बनाउन नसकेको घिमिरेले स्वीकार गर्नुभयो ।
‘यो चौध महिनामा संसदलाई प्रभावकारी बनाउन धेरै प्रयास भएका छन् । पहिलो अधिवेसन निर्वाचनमै सकियो, दोस्रोमा समितिको नेतृत्व चयन र केही घटनाक्रमले भनेजस्तो काम गर्न सकिएन’ सभामुख घिमिरेले भन्नुभयो, हिउँदे अधिवेसनलाई प्रभावकारी बनाउन संसदीय क्यालेण्डर बनायौं, त्यसलाई केही हदसम्म लागु पनि गर्यौ तर राजनीतिक घटनाक्रमले भनेजस्तो प्रभावकारी संसदलाई बनाउन सकिएको छैन ।’
उहाँले संसद सर्वोच्च विधायकी संस्था भएको उल्लेख गर्दै विधायकी संस्थालाई सर्वोच्च बनाउनुपर्नेमा आफुले सरकार, राजनीतिक दल, सांसदहरुसँग सम्वाद गरिरहेको बताउनुभयो । उहाँले संसदीय समितिलाई क्यालेण्डर अनुसार चल्न, सरकारका कामकारवाहीमाथि अनुगमन गर्न, दिएको निर्देशन कार्यान्वयन भए नभएको पनि हेर्न आफुले आग्रह गरिरहेको र अहिले संसद नभएको अवस्था समितिलाई सक्रिय बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सरकार जुन ढंगले संसद्प्रति जबाफदेहीपूर्ण हुनुपर्ने हो, आफुले त्यो नपाएको सभामुख घिमिरेको बुझाई छ । ‘प्रणाली, नीति, कार्यक्रम र जनताले पाउनुपर्ने सेवा प्रवाहका विषय सरकारले संसद्का माध्यमबाट लान सक्छ’ सभामुख घिमिरेले भन्न्ुभयो, ‘यो कुराको अनुभूति सरकारले तुलनात्मक ढङ्गबाट नगरेको नै मलाई महसुस हुन्छ ।’
रेडियो कार्यक्रम मार्फत जनाकाबीचमा जोडिरहन पाउँदा आफुलाई खुसी लागेको पनि सभामुख घिमिरेको बताउनुभयो ।