प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य, कांग्रेसको चेतावनी

मुख्य खबर NFM संवाददाता आइतवार बैशाख २, २०८१

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । आइतबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गर्नु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्यका लागि पठाएको पत्र वाचन गरेर आइतबार राति १२ बजेदेखि स्वतः अन्त्य हुने गरी प्रतिनिधिसभा बैठक अन्त्य गरिएको हो ।

प्रतिनिधिसभाको तेस्रो अधिवेशन २०८० साल माघ २२ मा प्रारम्भ भई २०८१ साल वैशाख २ गते अन्त्य भएको हो । ७० दिनसम्म चलेको अधिवेशनमा २३ दिनमा २३ पटक बैठक बसी जम्मा ८१ घण्टा ५५ मिनेट ससंदीय काम कारबाही भएका थिए ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको दोस्रो अधिवेशनभन्दा तेस्रो अधिवेशन कानुन निर्माणका हिसाबले राम्रो भए पनि पर्याप्त नभएको बताउनुभयो । उहाँले राजनीतिक दलहरूलाई कानुन निर्माणमा संसद्लाई क्रियाशील बनाउनुपर्ने बताउनुभयो । संसद् बैठकमा सभामुख घिमिरेले राजनीतिक दलहरूले आगामी दिनमा समझदारीपूर्वक कार्य गर्ने आफूले विश्वास लिएको बताउनुभयो ।

कांग्रेसको चेतावनी
प्रमुख प्रतिपक्ष दल कांग्रेसले सरकार संसदको मान्यता विपरित चलेको आरोप लगाएको छ । कांग्रेस संसदीय दलको बैठकले अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताविरुद्ध कार्य नगर्न सरकारलाई चेतावनी दिएको छ । आइतबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले सरकारलाई लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध कदम नचाल्न चेतावनी दिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले सरकारले अर्को अधिवेशन बजेट अधवेशनका लागि पर्याप्त समय हुँदाहुँदै अप्रत्याशित र असामयिक रूपले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेकोतर्फ कांग्रेसको ध्यान गम्भीर रुपले आकृष्ट भएको बताउनुभयो ।

Leave a Comment