काठमाडौं ।
सभामुख देवराज घिमिरेले सञ्चार माध्यमले नागरिकलाई संसदलाई मुद्दामा केन्द्रित भएर जोड्नुपर्ने बताउनु भएको छ । उहाँले नागरिकका सवाल, मुद्दा, प्रश्नलाई संसदमा पुर्याउने र संसद, सांसदका कुरा नागरिकलाई सुनाउनेगरि अभियान नै चाल्नुपर्ने बताउनुभयो । रेडियो कार्यक्रम ‘संसद र सांसद’का लागि नेपाल एफएम नेटवर्कसँग कुराकानी गर्दै सभामुख घिमिरले संसद नागरिककै थलो भएकाले नागरिकका मुद्दामा संसदलाई खबरदारी गर्ने काम सञ्चार माध्यमको भएको बताउनुभयो ।
राष्ट्रसंघीय कार्यक्रम युएनडिपी अन्र्तगगत संसद सहयोग परियोजनाको सहकार्यमा रेडियो कार्यक्रमको दोस्रो चरण सुरु भएको छ । उहाँले संसदका सवालमा नागरिकलाई जोड्नेगरि नै आफु सञ्चार माध्यमसँग खुला रहेको बताउनुभयो । रेडियो कार्यक्रमलाई नागरिकको मूलामुद्दामा केन्द्रित गर्न र संसदलाई जोडिरहन आग्रह गर्नुभयो ।
संविधानप्रदत्त महिलाको हक, अधिकार कार्यान्वयन गर्न र महिला सशक्तीकरणका लागि लैंगिक उत्तरदायी बजेट, नीतिका लागि संसदले विशेष चासो राख्ने सभामुख घिमिरेले बताउनुभयो । नीति कानुन, विधेयक बनाउन सांसदले कति भूमिका खेल्यो, दलहरुको भूमिका कस्तो रह्यो भन्नेमा पनि सांसांसदलाई निगरानी गर्न उहाँले रेडियो कार्यक्रमलाई आग्रह गर्नुभयो ।
जनताको रेडियो कार्यक्रम बनाउन अध्यक्षको सुझाव
राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले संसद, सांसदलाई प्रभावकारी बनाउने गरि कार्यक्रमले भूमिका खेलोस् भन्ने शुभकामना दिनुभयो । उहाँले यो कार्यक्रम संसद र सांसदसँगै जनताको कार्यक्रम बन्नुपर्ने बताउनुभयो । संसदलाई संविधानमा जुन रुपमा परिभाषित गरिएको छ त्यस अनुसार संसद र सांसदले भूमिका खेलेको वा नखेलेको विषयमा खबरदारी गर्ने काम सञ्चार माध्यमको रहेको अध्यक्ष दाहालको भनाई छ । उहाँले कार्यक्रम संसद र सांसदमा आफु पनि जोडिने प्रतिवद्धता जनाउनुभयो ।
लाखौ नागरिक जोडिदै
नागरिकका समस्या समाधानका लागि नीति, विधि निर्माण गर्ने थलो संसद हो । त्यही संसदलाई नागरिकप्रति उत्तरदायी बनाउने अनि संसद र सांसदलाई सीधै जनतासँग जोड्ने उद्देश्यले सयुक्त राष्ट्रसंघीय कार्यक्रम युएनडिपी अन्र्तगगत संसद सहयोग परियोजनाको सहकार्यमा रेडियो कार्यक्रमको दोस्रो चरण सुरु भएको छ । रेडियो कार्यक्रम संसद र सांसद संसदलाई जिम्मेवार बनाउने र नागरिकलाई संसदसँग जोडिरहने सेतु बनेको छ ।
कार्यक्रममा संसदमा छलफल भइरहेकाक विधेयक, विपद् व्यवस्थापन, लैङ्गिक सवालमा संसदको भूमिका लगायतका विषयमा छलफल हुनेछन् । यसअघि पहिलो चरणको २४औं श्रृखलामा रेडियोको दावी मान्ने हो भने २ करोडभन्दा बढी मानिसलाई संसदबारे जानकारी दिन सकिएको थियो । सामाजिक सञ्जालमार्फत १७ लाख मान्छे जोडिएका थिए । कार्यक्रममा डेडसय बढी सांसद ५ सयभन्दा बढी नागरिकको प्रत्यक्ष सहभागिता रहेको थियो । यो कार्यक्रम सांसद र नागरिकलाई जोड्नेगरि निरन्तर जारी रहनेछ नेपाल एफएम नेटवर्क व्यवस्थापनले प्रतिवद्धता जनाएको छ ।