बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार १९ गते विश्वासको मत लिने हुनुभएको छ । आइतबार बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई सोमबार संसदमा छलफल गराउने निर्णयसहित कार्यसूची तय गरेको हो ।
प्रदेशसभाका सचिव कृष्णहरी खड्काका अनुसार कार्यव्यवस्था परामर्शको बैठकले मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते सोमबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ । जम्कट्टेलले आफू नेतृत्वको सरकार टिकाउन हाम्रो नेपाली पार्टीलाई सत्ता साझेदार बनाए पनि राजनीतिक चुनौती भने कायमै देखिएको छ ।
सरकार टिकाउन सत्ता साझेदार दलहरूसहित मन्त्रिपरिषद् विस्तार गरिरहनुभएका मुख्यमन्त्री जम्कट्टेलका सामु गठबन्धन दलबाटै चुनौती देखिएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले गत बिहीबार हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री नियुक्त गर्नुभयो भने शनिबार सत्ता साझेदार दल एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपलियालाई सरकारमा सहभागी गराउनुभयो ।
विवादका बिच हाम्रो नेपाली पार्टीभित्र सरकारमा सहभागि भएको छ भने अर्कोतर्फ प्रदेश सरकारको नेतृत्वमा गठबन्धनभित्र एकीकृत समाजवादीको अडान कायमै छ । यस कारण पनि मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्ताव पारित होला भन्नेमा शङ्का छ ।
एकीकृत समाजवादीले प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै यथास्थितीमा विश्वासको मत दिन नसकिने बताएको छ ।
बागमतीमा सरकारको निरन्तरताका लागि कम्तीमा ५६ सांसदको समर्थन चाहिन्छ ।