औपचारिक रुपमा टुट्यो गठबन्धन, आजै नयाँ सरकार गठन हुने

राजनीति सोमवार फाल्गुन २१, २०८०

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच विवाद बढ्दै जाँदा सत्ता गठबन्धन भत्किएको छ । कांग्रेससँगको सत्ता गठबन्धन छाडेर माओवादी एमालेसँगको सहकार्यमा अगाडी बढ्ने निचोडमा पुगेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।

माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले सानो आकारको नयाँ मन्त्रीमण्डल आजै घोषणा गर्ने तयारी गर्नु भएको छ ।

नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन बनाउने प्रधानमन्त्रीको तयारी छ । प्रधानमन्त्रीले आजै सबैमन्त्रीहरुलाई हटाउने र सानो आकारको नयाँ मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी पनि गरेको बालुवाटार स्रोतले जनाएको हो । नयाँ मन्त्रिमण्डल बनाएर आजै मन्त्रीहरूको शपथ ग्रहणसमेत गर्ने तयारी रहेको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।

आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले एमालेसहितको चारदलीय नयाँ गठबन्धन बनाएर जाने निर्णय गरेको छ । आजै सानो आकारको मन्त्रीपरिषद् गठन गर्ने र कांग्रेससहितको गठबन्धन दलको मन्त्रीपरिषद् विघटन गर्ने निर्णय गरेको छ ।

को-को हुँदैछन् मन्त्री ? 
स्रोतका अनुसार सोमबार ४ सदस्यीय मन्त्रिमण्डल गठन हुँदैछ। त्यसपछि बाँकी मन्त्री दलहरूबीच भागबन्डाका आधारमा हुने स्रोतले बताएको छ। जस अनुसार एमालेले पदम गिरीलाई मन्त्री बनाएर आजै सरकारमा पठाउने तयारी गरेको छ।

सोमबार बिहान बालकोटमा बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने र गिरीलाई मन्त्री बनाएर पठाउने निर्णय गरेको हो। नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन मन्त्री बन्दैछन्। यद्यपि अहिलेसम्म मन्त्रालय टुंगो लागिसकेको छैन। उता, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पनि सरकारमा सहभागी हुने भएको छ। रास्वपाले रवि लामिछानेलाई मन्त्री बनाएर आजै सरकारमा पठाउने तयारी छ। जनता समाजवादी पार्टी ९जसपा० ले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा पठाउने भएको छ। उसले तीनवटा मन्त्रालय दाबी गरेको छ। यद्यपि गठबन्धनमा त्यसबारे छलफल भइरहेको जसपा सांसद प्रदीप यादवले बताए।

Leave a Comment