काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । शुक्रबार बिहान सिंहदरबारमा भएको भेटमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिमै पास गर्ने विषयमा छलफल भएको हो ।
छलफलमा आउने संसदबाटै सङ्क्रमणकालीन न्याय सम्बन्धि विधेयक टुंगो लगाउने विषयमा छलफल भएको एमाले अध्यक्ष ओलीले जानकारी दिनुभयो । टीआरसी विधेयक, संसद्को हिउँदे अधिवेशन र बजेटमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
दलहरु संसद बैठकमा प्रस्तुत हुने विषयमा छलफलमा जुटेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सिंहदरबारमा बसेको छ । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक पनि सिंहदरबारमा नै २ बजे बसेको छ । नेकपा एमालेले भने शनिबार र आइतबारका लागि संसदीय दलको बैठक बोलाएको छ । माघ २२ गते सोमबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुने भएपछि दलहरू छलफलमा छन् ।