आज शहिद दिवस, शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरि मनाइँदै

बागमती मङ्लबार माघ १६, २०८०

आज शहिद दिवस, देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरि मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका सपुतहरूको सम्मानमा माघ १६ गते आजकै दिन शहीद दिवस मनाउने गरिएको छ ।

प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए ।

यस वर्ष आज शहीद दिवसको दिन सार्वजनिक बिदा नहुने तर राष्ट्रिय पर्वका रूपमा मनाउने गृह मन्त्रालयले जनाएको छ ।

यसैबीच राष्ट्रपति, प्रधानमन्त्रीलगायतले दिवसको अवसरमा शुभकामना व्यक्त गरी शहीदले देखेका सपना र लिएको अठोटलाई पूरा गर्न सबैले सङ्कल्प गर्नुपर्ने बताउनुभएको छ ।

 

Leave a Comment