राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको चुनावमा सत्ता गठबन्धनका १८ जना निर्वाचित भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १ सिट जित्यो ।
कोशीमा एमालेका रुक्मिणी कोइराला र नेपाली कांग्रेसका कृष्ण सिटौला विजयी हुनुभयो। यस्तै मधेस प्रदेशको दुई सिटमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित हुनुभयो ।
बाग्मतीमा सत्ता गठबन्धनकै चार जना उम्मेदवार विजयी भएका छन् । महिलातर्फ कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यतर्फ कांग्रेसकै जितजङ्ग बस्नेत, अपाङ्गतातर्फ माओवादीका कृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी हुनुभएको छ ।
यस्तै गण्डकी प्रदेशमा पनि गठबन्धनका उम्मेदवार कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला क्लस्टरमा माओवादीबाट मनरुपा शर्मा र अपाङ्गता क्लस्टरमा कांग्रेसका पदम परियार निर्वाचित हुनुभएको हो ।
लुम्बिनी प्रदेशबाट महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी विजयी हुनुभयो ।
यस्तै कर्णालीमा पनि गठबन्धनका तीनै जना उम्मेदवार विजयी भए । कर्णालीमा अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल र दलिततर्फ माओवादी केन्द्रका विष्णुबहादुर विक निर्वाचित भएका छन् ।
सुदूरपश्चिममा गठबन्धनकै तीन जना उम्मेदवार विजयी भए । महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतातर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी हुनुभएको हो ।
स्वतन्त्र मेयरले मतदान गरेनन्
बिहिबार सम्पन्न निर्वाचनमा स्वतन्त्र मेयरहरूले मतदान गरेनन् । काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाह, धनगढी उपमहानगरका गोपाल हमाल र धरानका मेयर हर्क साम्पाङ राई मतदानमा सहभागी हुनुभएन ।
आउँदो फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने भएपछि चुनाव भएको हो ।
१९ सिटमा सातजना महिला
यस निर्वाचनबाट १९ जनामा ७ जना महिला निर्वाचित भएका छन् । जसअन्तर्गत सातै प्रदेशमा १/१ जना महिला निर्वाचित भएका हुन् ।
कोशी प्रदेशमा रुक्मिणी कोइराला, मधेशमा पूजा चौधरी, बागमतीमा विष्णुदेवी पुडासैनी, गण्डकीमा मनरुपा शर्मा विजयी हुनुभयो । लुम्बिनी प्रदेशमा विष्णुकुमारी सापकोटा यस्तै कर्णालीबाट सावित्री मल्ल र सुदुरपश्चिम प्रदेशबाट रेनु चन्द विजयी हुनुभयो ।
राष्ट्रियसभामा दलीय हैसियत फेरियो
यो चुनावबाट राष्ट्रियसभामा दलीय हैसियत फेरिएको छ । अव राष्ट्रियसभामा सत्तारुढ माओवादी केन्द्र पहिलो दलका रूपमा स्थापित भएको छ । राष्ट्रियसभामा अव फागुन २१ पछि माओवादीका १७ सांसद पुग्छ ।
गत वर्षको सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ३२ स्थानमा जितेर तेस्रो भएको माओवादी राष्ट्रियसभामा पहिलो स्थानमा पुगेको छ । यस्तै अहिले तेस्रो स्थानमा रहेको कांग्रेसका ४ जनाको पदावधि सकिएर घर फर्किँदा पनि निर्वाचनबाट १० थपिँदा १६ जना पुगेको छ ।
यसअघि तेस्रो स्थानमा रहेको कांग्रेस अब दोस्रो स्थानमा पुग्ने छ । यो मत परिणामले राष्ट्रियसभाको पहिलो दल एमालेलाई तेस्रो स्थानमा खुम्च्याइदिएको छ । कोशी प्रदेशको महिलातर्फ अनपेक्षित जित हात पारेको एमालेले आगामी फागुन २१ पछि १० जनामा सीमित हुनेछ ।