काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुले राष्ट्रिय सभाको सिट बाँडफाँटको टुंगो लगाएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले केहीदलको असन्तुष्टिकाबीच सिट बाँडफाँटको टुंगो लगाएको हो ।सहमति अनुसार कांग्रेसले १० सिट पाएको छ । माओवादी केन्द्रले ६ र एकीकृत समाजवादीले २ सिट पाएको छ । यस्तै अर्को सत्ता सझेदार दल जनता समाजवादीलाई १ सिट दिने सहमति भएको छ ।
बैठकपछि नेपाल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता गठबन्धनले सिट भागबन्डाको टुंगो लगाएको जानकारी दिनुभयो ।
‘राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सहयोगमा समर्थन गर्ने दलहरुका बीचमा संयुक्त रुपले उम्मेदवारी दिने लेखकले बताउनुभयो । अब दलहरुले आफ्नो आफ्नो पार्टीमा बसेर क्लस्टरका बारेमा छलफल गर्नेछन् ।
गठबन्धन दलबीच भएको भागबन्डामा भने एकीकृत समाजवादी र जसपाले भने असहमति जनाएको छ । एकीकृत समाजवादीले आफूलाई तीन सिट दिनु पर्ने अडान लिदै आएको थियो । यसअघि शनिबार राति अबेरसम्म भएको बैठकमा पनि सिट बाँडफाँटको विषयमा छलफल भएको थियो । उक्त बैठक निष्कर्षमा पुग्न नसकेपछि आइतबार बिहान पुनः बस्ने गरी सकिएको थियो ।