काठमाडौं । कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ललितपुरको बालकुमारीमा प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ । मन्त्री प्रकाश ज्वालाको वगाडीमा आगजनी भएको छ । दक्षिण कोरियामा रोजगारीको अवसर उपलब्ध गराउने ईपीएस कोटाअन्तर्गत नेपालमा लिइने भाषा परीक्षामा आफूहरूलाई पनि सहभागी गराउनुपर्ने मागसहित प्रदर्शन गरिरहेका युवाहरू र प्रहरीबीच शुक्रवार झडप हुँदा दुई जनाको मृत्यु भएको हो ।
नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतका अनुसार डोटी घर भएका २२ वर्षीय एक युवकको पाटन अस्पतालमा मृत्यु भएपछि मृतकको सङ्ख्या दुई पुगेको हो। यसअघि जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज कार्कीले दैलेख घर भएका २३ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएका थिए।
अर्का एक प्रदर्शककारीको उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बल प्रयोग गर्नुअघि आक्रोशित प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाइदिएका थिए।
प्रहरीले बल प्रयोग गरेर भिडलाई तितरबितर बनाएको र २३ जनालाई पक्राउ गरिएको जनाएको छ। केही सञ्चारमाध्यममा प्रकाशित विवरणका अनुसार प्रदर्शन चर्किएपछि प्रहरीले गोली चलाएको थियो। तर ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले गोली नचलेको र अश्रुग्यास मात्रै प्रहार गरिएको दावी गर्नु भएको छ।
१८ जनालाई पक्राउ
प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा।२झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए । ईपीएसका लागि आवेदन फाराम भर्न नपाएको भन्दै केही युवाको समूहले मन्त्रीको गाडीमा आगजनी गरेका थिए । मन्त्रीको गाडीमा आगजनी गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ
जहाज निर्माणसम्बन्धी कामका लागि परीक्षा दिएका तर त्यसमा उत्तीर्ण नभएकाहरूले आफूहरूलाई उत्पादनमूलक कोटामा पनि फाराम भर्न दिइनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।
सन् २०२४ मा कोरिया सरकारले करिब १६ हजार युवा लैजाने नीति लिएको छ । कोरियाको रोजगार अनुमति प्रणाली(ईपीएसअन्तर्गत भाषा परीक्षामा यसपटक एक लाख ४३ हजारभन्दा बढीको आवेदन परेको छ ।
आवेदनका लागि तोकिएको पाँच दिनमा एक लाख ४३ हजारभन्दा बढीको आवेदन परेको हो । सन् २०२४ का लागि कोरिया सरकारले नेपाललाई १६ हजार जनाको कोटा उपलब्ध गराएको छ ।