काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले जाजरकोट र रुकुमका भुकम्प पीडितहरुका लागि राहत सामग्री वितरण गरेको छ । जाजरकोट जिल्लाको भेरी नगरपलिका वडा नं १ र ३ का झण्डै १८ सय घरधुरीलाई र रुकुम जिल्लाको आठबीसकोट नगरपालिका वडा नं १ र २ मा ८ सय घरधुरीलाई ६० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको हो ।
तिहारमा देउसी भैलो खेलेर संकलन गरिएको रकमका साथै समितिमा आवद्ध व्यक्तिहरुबाट संकलित रकमले राहत सामग्री वितरण गरिएको नेपाल मानव धर्म सेवा समितिको राष्ट्रिय कार्य समितिका उपाध्यक्ष टेक बहादुर थापाले जानकारी दिनुभएको छ । भुकम्प पीडितहरुका लागि जाडोबाट जोगिन ब्ल्याङकेट तथा चामल, तेल, दाल, चिउरा लगायतकाखद्य सामग्री वितरण गरिएको हो ।
भुकम्प प्रभावित दुई जिल्ला मध्ये जाजरकोट भेरी नगरपालिका वडा नं १ र ३ मा बढि मानिसको मृत्यु हुनुको साथै करौडौंको जनधनको क्षति भएको छ । त्यसैले जाजरकोटलाई राहत वितरणको प्राथमिकतामा राखिएको समितिले जानकारी दिएको छ ।
समितिका अनुसार नेपाल मानव धर्म सेवा समितिका प्रणेता सत्पालजी महाराजका जेष्ठ सुपुत्र तथा अन्तर्राष्ट्रिय अध्यात्मित युवा व्यक्ति विभूजी महाराजको उपस्थितिमा राहत सामग्री वितरण गरिएको थियो । राहत वितरणका क्रममा भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले स्वागत गर्दै मानवताको यो महान अभियानलाई निरन्तरता दिएकोमा धन्यवाद दिनुभएको छ ।