अस्ट्रेलियाको संसदीय अभ्यास भ्रमण लाभदायक भयो : संसदीय टोली

राजनीति NFM संवाददाता बुधबार पुस ४, २०८०

काठमाडौं । संसदीय अवलोकन भ्रमणका लागि अस्ट्रेलिया गएको संसदीय टोलीले भ्रमण उपलब्धिपूर्ण भएको बताएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा गएको टोलीले अस्ट्रेलियाको संसदीय अभ्यासका धेरै विषय नेपालमा लागु गर्न सकिने बताएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र अस्ट्रेलियाको संसदीय अभ्यास, संघीयता उस्तै भएपनि काम गर्ने तरिका फरक रहेको बताउनुभयो ।

रेडियो कार्यक्रम संसद र सांसदसँग कुराकानी गर्दै प्रदेशसभाका सभामुखहरुले पनि त्यहाँको संसदीय अभ्यास, सांसद र समितिले गर्ने काम नेपालले अनुशरण गर्न सकिने बताए ।

सुदूरपश्चिमका भीमबहादुर भण्डारी, कर्णालीका नन्दा गुरुङ, गण्डकीका कृष्णप्रसाद धितालले अस्ट्रेलियाको संसद र संसदीय समिति निकै शक्तिशाली रहेको बताउनुभयो । अस्ट्रेलियामा संसदले क्यालेण्डर बनाएर नै काम गर्ने भएकाले नेपालले त्यसबाट पाठ सिक्नुपर्ने उहाँको भनाई छ । त्यस्तै प्रदेशसभाका उपसभामुखले पनि उपसभामुखको भूमिकालाई नयाँ तरिकारले छलफल गर्न सकिने बताएका छन् ।

प्रतिनिधिमण्डलमा अध्यक्ष तिमिल्सिनासहित प्रदेश सभा सभामुखहरू सुदूरपश्चिमका भीमबहादुर भण्डारी, कर्णालीका नन्दा गुरुङ, गण्डकीका कृष्णप्रसाद धिताल भ्रमण टोलीमा जानु भएको थियो । यसैगरी, प्रदेश सभा उपसभामुखहरू कोशीबाट सिर्जना दनुवार, मधेशबाट बबिताकुमारी राउत इसर, बागमतीबाट अप्सरा चापागाईं खत्री र लुम्बिनीबाट मेनुका खाण केसी पनि टोलीमा हुनुहुन्थ्यो ।

यसैगरी, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, संघीय संसद् सचिवालयका प्रमुख पुस्तकालय अधिकृत कमलादेवी शर्मा टोलीमा रहनु भएको थियो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको संसद सहयोग परियोजनाको व्यवस्थापनमा संसदीय टोली वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन भ्रमण कार्यक्रममा गएको हो ।

Leave a Comment