चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिनामा सरकारले ३५५ अर्ब ६३ करोड रुपैयाँ खर्च गरिसकेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको आर्थिक् तथा वित्तीय अवस्थासम्बन्धी रिपोर्टअनुसार चार महिनामा नेपाल सरकारको कुल खर्च ३५५ अर्ब ६३ करोड भएको हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारी खर्च गत आर्थिक वर्षको पहिलो चार महिनामा २२.१ प्रतिशतले वृद्धि भएकोमा समीक्षा अवधिमा १.३ प्रतिशतले मात्र वृद्धि भएको छ ।
समीक्षा अवधिमा चालु खर्च २७१ अर्ब १७ करोड, पुँजीगत खर्च २९ अर्ब ९९ करोड र वित्तीय व्यवस्था खर्च ५४ अर्ब ४७ करोड रहेको छ ।
यस्तै समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) २७६ अर्ब ६४ करोड भएको छ ।
गत आर्थिक वर्षको पहिलो चार महिनामा १९.८ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ३.० प्रतिशतले बढेको बैंकले जनाएको छ ।