एनसेलको शेयर विक्रिविरुद्ध परेको रिट आज पनि हेर्न नभ्याइनेमा

मुख्य खबर मङ्लबार मंसिर २६, २०८०

एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दायर गरेको रिट आज मंगलबार पनि हेर्न नभ्याउनेमा परेको छ । आज सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा परेको रिट फेरि पनि हेर्न नभ्याउनेमा परेको हो ।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गर्नुभएको छ । उहाँले शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गर्नुभएको छ ।

सिंहले मंसिर २२ गते दायर गरेको रिटमा एनसेल आजियटाको नेपालस्थित कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजश्व विभाग मातहतको ठूला करदाता कार्यालयलाई विपक्षी बनाइएको छ ।

यसअघि मंसिर २४ गते आइतबार र मंसिर २५ गते सोमबारको पेसीमा पनि सिंहको रिट हेर्न नभ्याउनेमा परेको थियो ।

Leave a Comment