जाजरकोट । जाजरकोटको बारेकोट केन्द्रविन्दु बनाएर गएको भुकम्पले ठुलो जनधनको क्षति भयो । भुकम्पमा परि १५३ जनाको मृत्यु भयो भने हजारौँ घर परिवार प्रभावित भए । भुकम्पले ६० हजार भन्दा बढी घर पुर्ण रुपमा क्षती हुँदा हजारौँ परिवारको विचल्ली भयो ।
भुकम्पपछि त्रिपालमुनि बस्न वाध्य भएका दर्जनौँ मानिसको चिसोका कारण मृत्यु भयो । भुकम्प गएको एक महिना बितिसक्दा पनि अस्थाई आवासका लागि सरकारले छुट्याएको राहत रकम अझै पिडितले पाएका छैनन् । अस्थाई आवास निर्माणको काम जेनतेन चलिरहेको छ । सरकारले दिने भनेर छुट्याएको राहत रकम पाउन नागरिकले हैरानी व्यहोर्नु परेको छ ।
भुकम्पको केन्द्रविन्दु बनेको जाजरकोटको बारेकोट गाउँपालिकामा ५ हजार ५८६ घर परिवार लाभग्राहीको सुचीमा समावेश छन् । यस पालिकामा अस्थाई आवास निर्माणको काम भैरहेको पालिकाका अध्यक्ष विरबहादुर गिरिले बताउनुभयो ।
उहाँका अनुसार अवको एक/दुई दिनमा लाभग्राहीले पहिलो किस्ता वापत्को रकम पाउने छन् । ‘अहिले अनुसुची फारम भर्ने काम भइरहेको छ, यो काम सकिएपछि पहिलो किस्ता वापतको रकम सम्बन्धित लाभग्राहीको खातामा पैसा पठाउने गरि काम अघि बढेको छ, उहाँँले भन्नुयो ।’
भुकम्पको एक महिना बितिसक्दा पनि पिडितले किन पहिलो किस्ता वापतको रकम पाएनन् ? हाम्रो प्रश्नमा पालिका अध्यक्ष गिरि भन्छन्, – एक त सरकारी प्रक्रिया पनि ढिलो छ र अर्काे चाँही नागरिकका अपेक्षालाई व्यवस्थित गर्न अप्ठ्यारो भएको हो । एकै घरका सँगै बसेका परिवारका सबै सदस्यहरुले नाम लेखाउने काम भयो यसो हुँदा पनि समस्या भयो ।
जाजरकोटको अर्काे प्रभावित स्थानिय तह नलगाड नगरपालिका पनि हो । यस नगरपालिकाले भुकम्पका कारण नगरपालिकाका उपप्रमुख सरिता सिंह सहित ५४ जना गुमाएको थियो । यस नगरपालिकामा पनि राहत रकम वापतको पहिलो किस्ता वितरणको काम भएको छैन ।
अहिलेसम्म स्थानियले ९ सय हाराहारीमा अस्थाई आवास बनाएका छन् । नगरप्रमुख डम्बर बहादुर रावतका अनुसार यो महिनाको अन्तिम सम्ममा अस्थाई आवास निर्माणको काम सकिनेछ । अस्थाई घर टहरा निर्माण गर्दैगर्दा चिसोबाट बचाउन स्थानिय रुपमा प्राप्त हुने सामग्रीको प्रयोगमा ध्यान दिएको नगरपालिका प्रमुख रावतको भनाई छ ।
जाजरकोटको यि दुई स्थानिय तहमा भन्दा अलिक फरक छ रुकुम पश्चिममा । भुकम्पबाट प्रभावित बनेको रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा भने पहिलो किस्ता वापत्को रकम वितरण भइरहेको छ । नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले अहिले दैनिक जसो ५० वटा अस्थाई आवास बनाउने काम भैरहेको बताउनुभयो ।
उहाँका अनुसार ५ हजार हाराहारीमा अस्थाई आवास निर्माण भैसकेको छ । ‘स्थानिय बासिन्दा र स्थानिय तहको सक्रियतामा अस्थाई आवासको काम भइरहेको छ,’ उपप्रमुख शाहीले बताउनुभयो ।
सरकारले भुकम्प प्रभावितहरुका लागि छुट्याएको राहत रकम पाउन सहज बनाएको बताए पनि प्रभावितले राहत रकम पाउनै मुस्किल भएको पाइएको छ । भुकम्पको पिडा भोगिरहेका नागरिकका लागि राहत रकम लिनै कठिन परिस्थिती सृजना भएको प्रति तिनै तहको सरकार जिम्मेवार बन्नुपर्ने आवश्यकता छ ।