नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ ।
प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख बराबरको रकम कमाएको हो ।
विद्युत् निर्यात गत आर्थिक वर्ष २०७९र८० को यही अवधिको तुलनामा चार अर्ब ८६ करोड ४४ लाखले बढी हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी सात अर्ब ६३ करोड ६४ लाख आर्जन गरिएको थियो ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । गत जेठदेखि कात्तिकसम्ममा एक अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख आर्जन भएको छ ।
चार महिनाको समग्र औसत विद्युत् बिक्री दरप्रति युनिट नौ १८ पैसा छ । गत वर्ष यसै अवधिको समग्र औसत बिक्री दर प्रति युनिट सात ७ रुपैयाँ ७६ पैसा थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार महिनामा विद्युत् निर्यातबाट सात अर्ब ८४ करोड ८० लाख भारतीय रुपैयाँ आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिति र नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको बताउनुभयो ।