चिसोको सिकार बन्दै जाजरकोट भूकम्प पीडित

कर्णाली सोमवार मंसिर ४, २०८०

जाजरकोट । चिसोका कारण जाजरकोट भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बन्दै गएको छ ।

भूकम्पपछि त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोले बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, दीर्घ रोगी र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन् । भूकम्पपछि चिसोका कारण अहिलेसम्म १० जनाको मृत्यु भइसकेको छ । मृत्यु हुने अधिकांश दीर्घ रोगी रहेका छन् ।

जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका ३५ हजारभन्दा बढी परिवार कात्तिक १७ को भूकम्पपछि त्रिपालमुनि बस्न बाध्य छन् ।
जसका कारण बालबालिका, सुत्केरी, ज्येष्ठ नागरिक, अपांगता भएका र दीर्घ रोगी धमाधम बिरामी परेका छन् ।

कम्प प्रभावित क्षेत्रका नागरिकमा चिसोबाट लाग्ने रोगको सिकार हुने दर बढ्ने देखिएको छ । आफन्त गुमाएका, परिवार बस्ने बास ध्वस्त भएका, भूकम्पमा परी घाइते भएका र गाँस, बास आंशिक वा पूर्ण रूपमा ध्वस्त भएका मानिस क्रमशः मानसिक समस्याको सिकार हुन थालेका छन् ।
स्थानीय निकायका जनप्रतिनिधि जाडोबाट भूकम्पपीडितलाई चिसोबाट सर्ने नसर्ने रोग सिकार हुनबाट जोगाउन तत्काल त्रिपालको सट्टामा स्थायी टहरा निर्माण नहुन्जेल अस्थायी डबल लेअर भएको फाइबर टेन्ट भएको खण्डमा बचाउन सकिने बताउँछन् ।
यो समयमा त्रिपालमुनि बास सीमित भएमा चिसोबाट लाग्ने रोग र सङ्क्रामक रोगबाट ठूलो समूह प्रभावित भई अर्को आपत् आइपर्ने त्रास भयो ।
खलंगाको जिल्ला प्रशासन कार्यालय नजिकै बारीमा प्लाष्टिकले बारेको सानो छाप्रोमा कठ्यांग्रिने चिसोमा दूधे बालक स्याहार्दै पुष्पा केसी भन्नुहुन्छ, चिसोले बालबालिका जोगाउनै मुश्किल भयो ।
भूकम्पमा पति गुमाउनुभएकी खलंगाकै सीता गिरीले चिसो लागेपछि बालबालिका बिरामी पर्न थालेकाले कसरी जोगाउने भन्ने पिरले सताइरहेको बताउनुभयो ।

जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा पुस–माघ महिनामा हिमपात हुन्छ । यो बेला जोखिममा परेका भूकम्पपीडित थप समस्यामा पर्नेतर्फ अहिलेदेखि नै स्थानीय सरकार गम्भीर नबन्ने हो भने झन् ठूलो संकट आउने स्वास्थ्य विज्ञहरुको तर्क छ ।

भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई अनिवार्य रूपमा पानी उमालेर वा क्लोरिन प्रयोग गरी पिउन चिकित्सकहरुले सुझाव दिएका छन् । खानेकुरामा फास्टफुड र जङ्कफुड धेरै नखान, झिँगा भन्केका खानेकुरा नखान, लामखुट्टेको टोकाइबाट जोगिन पनि आग्रह गरेका छन् ।

Leave a Comment