संसदलाई नै ‘सिकाउने’ नमूना युवा संसद

मुख्य खबर गोविन्द खड्का शनिबार कार्तिक १८, २०८०

झापा । संसदमा सत्ता र प्रतिपक्षबीच खुला प्रश्नोत्तर चलिरहेको थियो । नमूना युवा संसदका सदस्यहरु प्रश्न गरिरहेका थिए । युवा सरकारका ‘प्रधानमन्त्री’ जुनु पौडेलले संसदमा उठेका प्रश्नको जवाफ दिँदा सत्तापक्षले टेबल ठटाए ।

युवा सांसद विमला पाठकले झापामा रहेका सुकुम्बासीका समस्या समाधान गर्न युवा सरकारका मन्त्रीको जवाफ खोज्नुभयो । युवा सांसद समिक्षा लिम्बुले झापामा बढिरहेको हात्ति आतंकबारे सरकारको ध्यान आकर्षण गराउनुभयो । युवा सांसद सलिना पौडेलले सीप मुलक शिक्षामा जोडदिन आग्रह गर्नुभयो भने युवा सांसद सन्देश झाले युवा शक्तिको विदेश पलायन रोक्न विशेष कार्यक्रम ल्याउन युवा सरकारसँग माग गर्नुभयो ।

संसदको सत्र सुरुहुनु अगावै आकस्मिक समयको माग गरि युवा सांसद नरेश दासले जनताको जीउधनसँग जोडिएको विषयमा जवाफदेहीताको प्रश्न उठान गर्नुभयो । सवारी दुर्घटनाले जनधनको क्षति भएको माथि सरकारको गम्भिर ध्यानआकर्षण गराउँदै युवा सांसद दासले भन्नुभयो ‘सडक दुर्घटना रोक्नका लागि युवा सरकारका प्राथमिकता र कार्यक्रमहरु के छन् ? म सभामुख मार्फत युवा सरकारको ध्यानआकर्षण गराउन चाहान्छु ।’

नमूना संसदमा युवा सांसदले मानव–हात्ती द्वन्द्व, बढ्दो सवारी दुर्घटना, बाल यौन दुव्र्यवहार, सुकुम्बासी समस्या, सामाजिक सञ्जालको दुरुपयोग, सुपारी कृषकका समस्या, खाद्यान्नमा मिसावट, फोहोरमैला व्यवस्थापन, लागुऔषधको बिगबिगी, युवाको विदेश पलायन, शिक्षाको ह्रासोन्मुख गुणस्तरलगायतका विषय उठाउँदै युवा सरकारका नमूना प्रधानमन्त्री र विभागीय मन्त्रीको जवाफ मागेका थिए ।

संसदमा खुला प्रश्नोत्तर चलिरहँदा सभामुखलाई सम्बोधन गर्दै प्रतिपक्षका सांसदहरूले सम्बन्धित मन्त्रालयका मन्त्री र प्रधानमन्त्रीसँग सोधिएका सवाल रोमाञ्चक मात्रै थिएन, झापाको जनजीवनसँग जोडिएका यथार्थ पनि थिए ।

वास्तविक सस्यामा संकल्प प्रस्ताव
युवा सांसद लाक्पा डोल्मा तामाङले सामुदायिक विद्यालयको गुणस्तरीयाताका विषयमा संकल्प प्रस्ताव पेश गर्नुभयो । नमूना संसदमा ‘सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाइयोस’ भनेर युवा सांसद तामाङले राखेको उक्त सङ्कल्प प्रस्तावमाथि छलफल चलाएर मत विभाजन गरिएको थियो । परिणाम जानकारी गराउँदै सभामुख नविन तिवारीले भन्नुभयो, ‘माननीय युवा सांसद लाक्पा डोल्मा तामाङले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाइयोस् भनी राखेको प्रस्तावको विपक्षमा कसैको पनि आवाज नसुनिएको हुँदा प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु ।’

सभामुखले निर्णय सुनाएपछि हलमा रहेका नमूना युवा सांसद र मन्त्रिमण्डलका सदस्यले ताली बजाएका थिए । त्यो दृश्यलाई अभिरुचिपूर्वक हेरिरहनु भएका संघीय संसदका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दीरा रानामगर र विभिन्न दलका सचेतकको हाँसो थामिएन । सभामुखको भूमिकामा रहेका तिवारीले नधकाई सभामुखको दुरुस्त अभिनय गर्दै संसद्को बैठक चलाइरहँदा सभामुख घिमिरे मुसुमुसु हाँसिरहनु भएको थियो । सभामुख, उपसभामुख, सांसदहरु बेला बेला कानेखुसी गथ्र्ये । दर्शक दीर्घामा रहेका आगन्तुकहरू पनि खित्का छोडेर हाँसी रहेका देखिन्थ्ये ।

कार्यक्रममा सभामुख र उपसभामुखको नमूना निर्वाचन अभ्यास गरिएको थियो भने सत्तापक्ष, प्रतिपक्ष, मन्त्रीको अलगअलग आसनलहरको व्यवस्था मिलाइएको थियो । झापाको विर्तामोडमा रहेको एउटा होटलको हलमा संघीय संसदमा सभामुख, उपसभामुख, दलका प्रमुख सचेतक, सचेतक, सांसदहरुलाई राखेर चलेको नमूना युवा संसद वास्तविकता भन्दा कम थिएन ।

सिकारुहरुले सिकाएर नै संसदलाई
नमूना युवा संसदबाट विद्यार्थीले संसदको अभ्यास सिके । नमूना संसदको अवलोकन गर्न काठमाडौंबाट झापा पुगेका संघीय सासदलाई पनि कहिल्यै नबिर्सिनेगरि सिकाइहरु अनुभूत गराए । झण्डै दुईदशकको संसदीय अनुभव संगालेका नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नमूना युवा संसद अभ्यासबाट समयमा बोल्ने, विषय केन्द्रित हुने, संसद अवरुद्ध नगर्ने, संसदमा पुरा समय बस्नेजस्ता पाठ आफुहरुलाई सिकाएको बताउनुभयो ।

सभामुख देवराज घिमिरेले नमूना संसदमा उठाइएका सवाल मुलुकको वास्तविक सवाल भएको जनाउँदै कार्यक्रमले संसद्, संसदीय प्रणाली र राजनीतिप्रति विद्यार्थीमा सकारात्मक सन्देश प्रवाहित भएको बताउनुभयो ।

नमूना संसदका युवा सांसदहरुले विषयवस्तुमा मात्रै केन्द्रीत भई छोटो समयमा कुरा राखेको, आरोप प्रत्यारोप नगरेको, सभ्य ढंगबाट विषयहरु उठाएको, संसद अवरुद्ध नगरेको लगायतका सन्दर्भहरु संघीय संसदका सांसद र प्रदेशसभाका सहभागि सदस्यले चर्चा गरेका थिए ।

अभ्यासकर्ता युवा सांसदको उत्साह र सपना
युएनडिपी संसदसहयोग परियोजना, साहारा नेपालको सहकार्यमा संघीय संसद सचिवालयले आयोजना गरेको नमूना संसद झापामा ४ दिनसम्म चलेको थियो । कार्यक्रमको अन्तिम दिन २२ वटा माध्यमिक छनोट भएर आएका कक्षा १२ का ६० जना विद्यार्थीले संसदको अभ्यासमा भाग लिएका थिए । प्रधानमन्त्री, सभामुख, मन्त्री, सांसदको अभिनय गरेका विद्यार्थीले साच्चिकै त्यो जिम्मेवारीमा पुगेको अनुभव सुनाए । ‘हामीले नमूना अभ्यास मात्रै गरेका हौं तर साच्चिकै छौ जस्तो महसुस भयो । भोलि सांसद हुनेगरि राजनीतिर मन पनि डोर्यायो’ सबैको साझा अनुभव थियो ।

राजनीतिमा जोडिदै संसदमा पुग्नसक्ने युवा विद्यार्थी र साच्चिकै संसदको अभ्यासमा रहेका सांसदहरुलाईसँगै राखेर गरिने यस्ता अभ्यासबाट के सिक्न सकिन्छ । युएनडिपी संसद सहयोग परियोजनाका टिम लिडर दिलादत्त पन्त भन्नुहुन्छ‘ विद्यार्थीहरुले संसदको अभ्यास, कानुन निर्माणको प्रक्रिया, सांसदको भूमिका बारे जानकारी पाए । सांसदहरुले पनि विद्यार्थीको नमूना संसद अभ्यासबाट समयको महत्व, विषय केन्द्रित हुनेतरिका, एकमतका साथ सार्वजनिक महत्वमा सहमति जनाउने जस्ता कुरा सिकेका छन् । ’

१ सय ८० दिन चलेको संघीय संसद्को देस्रो अधिवेशनले एउटा मात्रै विधेयक पारित गरेको, अति जरुरी मानिएको विधेयक र प्रस्तावमा छलफल गर्न नसकि अन्त्य भयो भन्ने टिकाटिप्पणी भइरहेको छ । तर, झापामा चलेको युवा संसद भने कुनै टिकाटिप्पणी नआउनेगरि महत्वपूर्ण काम गरेको घोषणा सहित संसद अन्त्य गरिएको थियो ।

 

Leave a Comment