नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस भेटवार्तामा व्यस्त बन्नुभएको छ ।
गएराती नेपाल आइपुग्नुभएका गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभको । साथै उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँगसमेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको छ ।
महासचिव गुटेरेस र नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज आइतवार दिउँसो उहाँहरूबीच शिष्टाचार भेट भएको हो । भेटमा उहाँहरूबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी उपसभापति एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिनुभयो ।
यस्तै नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि आजै भेटवार्ता गर्नुभएको छ । भेटमा महासचिव गुटेरेस र अध्यक्ष ओलीबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी एमालेका नेता डा। राजन भट्टराईले जानकारी दिनुभयो ।