इजरायलबाट व्यवसायिक उडानमार्फत नेपाल फर्कन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने भएको छ । सरकारले चाटर्ड उडानमार्फत इजरायलमा रहेका विद्यार्थीहरूको उद्धार गर्दैछ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले व्यवसायिक उडानमार्फत आउन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने निर्णय गरेको कानुनमन्त्री धनराज गुरुङले बताउनुभयो ।
इजरायल र हमासबीचको युद्धका कारण १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । त्यस्तै ४ जना घाइते भएका थिए । एकजना सम्पर्कविहिन छन् । वेपत्ताको खोजी कार्य जारी रहेको सरकारले जनाएको छ । त्यस्तै चार जना घाइतेमध्ये २ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने २ जनाको उपचार भइरहेको छ ।
घर फर्किनका लागि २८० भन्दा बढी विद्यार्थीले अनलाइन आवेदन भरेका छन् । उनीहरूलाई लिनको लागि आज राति नेपाल एयरलायन्सको विमान इजरायल जाँदैछ ।