उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्थाप्रति आयोगको ध्यानाकर्षण

Breaking बुधबार अशोज १०, २०८०

राष्ट्रिय मानव अधिकार आयोगले आठ दिनदेखि काठमाण्डौको राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका अभियन्ता ‘ई’ को स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले आज विज्ञप्ति निकालेर साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्थाका बारेमा ध्यानाकर्षण भएको जनाएको हो । आयोगको टोलीले हिजो मङ्गलवार स्थलगत अनुगमन गरे ‘ई’ र उहाँका साथीहरू एवम् धर्नास्थल वरपरका व्यापारीहरूसँग छलफल गरी जानकारी लिएको थियो ।

अभियन्ता ‘ई’ का दुवै खुट्टा अस्वाभाविक रूपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, औषधि सेवन गरिरहेको लगायतका जानकारीहरू अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।

‘ई’ ले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने विषय मानव अधिकार र संविधानमा भएको पेसा रोजगारीको हकसँग पनि जोडिएकाले तत्कालै उहाँका माग पूरा गर्न आयोगले नेपाल सरकार र काठमाण्डौ महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । साथै आफ्नो स्वास्थ्य र जीवन नै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रर्दशनका अन्य विकल्प खोज्न पनि आयोगले ‘ई’ लाई आग्रह समेत गरेको छ ।

Leave a Comment