संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधन

मुख्य खबर मङ्लबार भदौ २६, २०८०

काठमाडौँ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।

राती साढे १ बजे हृदयघातपछि अस्पताल पु¥याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताउनुभयो ।

त्यो खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुग्नुभएको थियो । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव भोलि ९बुधबार० सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ । भोली राजकीय सम्मानसहित अन्तेष्टि गरिनेछ ।

राष्ट्रपति

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभएको छ । नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति पौडेलले बताउनु भएको छ ।

प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ ।
सामाजिक सञ्जाल एक्समा लेख्दै उहाँले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताउनु भएको हो ।

गएराति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले मृत घोषित गरेका थिए ।

 

को हुन सुवास ?

सुवास नेम्वाङको जन्म २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा भएको थियो । उहाँ २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य हुनुभयो । नेम्वाङले इलामबाट २०५६ सालदेखि निरन्तर संसदीय चुनाव जितिरहनुभएको थियो ।

उहाँ २०६४ सालको संविधानसभा निर्वाचन र ७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम– २ विजयी बनेर संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहनुभयएको थियो । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्यप्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत हुनुभएको थियो । २०७४ को संसदीय निर्वाचनमा उहाँ एमाले– माओवादी गठबन्धनबाट विजयी हुनुभएको थियो ।

गत पुस १० मा राष्ट्रपतिमा उम्मेदवारी दिनुभएका नेम्वाङलाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पराजित गर्नुभएको थियो । कानूनमा स्नातक गरेका नेम्वाङ केही समय कानून व्यवसायमा पनि हुनुहुन्थ्यो ।

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति बन्नुभएको थियो । २०३३ सालमा राजकाज मुद्दामा जेल परेका उहाँ तत्कालीन नेकपा मालेमा संगठित हुनुभएको थियो ।

२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेमा नेम्वाङ आवद्ध हुनुभयो । २०५४ को छैटौं महाधिवेशनदेखि उहाँ निरन्तर एमाले केन्द्रीय कमिटीमा आबद्ध हुनुभएको थियो । २०७१ सालमा भएको नवौं महाधिवेशनपछि उहाँ स्थायी कमिटी सदस्य बन्नुभएको थियो थिए । २०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनमा नेम्वाङ उपाध्यक्ष हुनुभएको थियो । उहाँको भोलिमात्रै अन्त्यष्टी गरिने जनाइएको छ

Leave a Comment