सभामुख मण्डललाई नागरिकका प्रश्नै प्रश्न

प्रदेश समाचार शनिबार भदौ १६, २०८०

जनकपुरधाम । मेयर मनोजकुमार साह : संसदले कानुन बनाउछ तर कार्यान्वयन हुँदैन । स्थानीयतहसँग दुईवटा कानुन बनिसके तर, बनेका कानुन कार्यान्वयन हुँदैन त्यसको के अर्थ ?

सभामुख रामचन्द्र मण्डल ? संसदले अहिलेसम्म ५५ वटा कानुन बनायो । स्थानीयतहसँग दुईवटा कानुन बनाइसक्यो । एउटा अहिले संसदीय समितिमा पुगेको छ । तर, कानुन बनेर कार्यान्वन नहुँदा मृत अक्षर जस्तो हुन्छ । त्यसमा संसदले पनि ध्यान दिने र केहीकुरा संघियताको अघिकार नभएकाले समस्या भएको छ ।

यो प्रश्नोत्तर शनिबार मधेस प्रदेशको राजधानी जनपुरधाममा जनतासँग सभामुख कार्यक्रममा मेयर र मधेसप्रदेशसभाका सभामुखबीच भएको हो । शनिबार संसदले बनाएका कानुन, नागरिकका मुद्दामा संसद र सांसदको भूमिकासहितका विषयमा जनतासँग सभामुख साक्षात्कार कार्यक्रम गरिएको थियो ।

यूएनडिपीको संसदसहयोग परियोजनाको सहकार्यमा जनकपुर उपहानगरपालिका वडानम्बर १० को समन्वयमा नेपालएफएम नेटवर्कले गरेको कार्यक्रम मेयरसहित नागरिकहरुले सभामुख मंडललाई प्रश्न गरेका थिए ।

सभामुख मंण्डलसँग जनताले गुनासै गुनासो सुनाएका छन् । संसदले कानुन बनाउनेक्रममा नागरिकसँग समुन्वय नगरेको, सांसदले नागरिकका मुद्दामा चासो नदिएको, काम गर्नुपर्दा घुस दिनुपरेको तर संसदमा त्यस्तो कुरा नउठेको विषय नागरिकले सभामुखको ध्यानआकर्षण गराएका थिए ।

नागरिकका जिज्ञासाको जवाफमा सभामुख मण्डलले कानून बनाएर मात्र नहुने भएको कार्यान्वयनका लागि सबै पक्ष जिम्मेवार हुनु पर्नेमा जोड दिए । उनले संसदमा सांसदहरु कहिलेकाही बरालिने, मुद्दाभन्दा बाहिर जाने जोखिम भएकाले नागरिकले ठीक ठाउँमा ल्याउनुपर्ने बताए । ‘कानूनहरू प्रभावकारी कार्यान्वयन गर्न नागरिकको सहभागिता जरुरी छ’ उनले भने, ‘सडक तातेमात्रै सदन तात्छ, त्यसका लागि जनताले पनि तताउनुपर्छ । नत्र संसद सुत्न सक्छ । सुतेको मान्छे कतैपनि पुग्दैन ।’ उनले जनताले मैले बनाएको कानून हो भन्ने महसुस गर्न सके मात्र कार्यान्वयन हुने भएकाले त्यसका लागि मधेस प्रदेश सभाले नागरिकको सहभागितामा कानून बनाउने प्रयास गरेकोे बताए ।

 

कतिपय कानून निर्माण भए पनि कार्यान्वयनको अभावमा समस्या भईरहेको र संसदले आबश्यकता अनसुसार भूमिका खेल्न नसकेको स्वीकार गरे । उनले बनेका कानु कार्यान्वयनका लागि हरेक जिल्लामा कानुन व्यवसायीको सयन्त्रसँग छलफलको तयारी भइरहेको पनि जानकारी दिए ।

अब सभामुख चोक चियापसलमा जाने
सभामुख मण्डलले नागरिकलाई संसदका विषयमा जानकारी दिन र संसदमा नागरिकका मुद्दा लैजान आफुले पहल गर्ने बताए । उनले आफुयसअघि पनि चिया पसलहरुमा जाने गरेको र अब योजना बनाएर नै जनतासँग साक्षात्कार गर्ने प्रतिवद्धता जनाए । संसदको खुलापनका लागि नागरिकलाई संसदमा सहज पहुँचमा आफुले पहल गर्ने बताए ।

आफु पहिला पनि शिक्षक भएको प्रसँग उल्लेख गर्दै सभामुख मंडलले विद्यालय र क्याम्पसमा विद्यार्थीलाई संसदको बारेमा जानकारी दिनेगरि पढाउने तयारी गरिरहेको पनि बताए । जनतासँग प्रत्यक्ष जोडिँदा जनस्तरबाट विभिन्न कोणबाट प्रश्न आउँदा हामीलाई सिर्जनात्मक हुन, अझ बढी काम गर्न उत्साह प्रदान गर्ने सभामुखको भनाई छ ।

कार्यक्रममा सांसद, स्थानीय सरकारका प्रतिनीधि, नागरिक समाजका गरि सयभन्दा बढीको सहभागिता रहेको थियो ।

Leave a Comment