संसदीय अध्ययन र अनुसन्धानमा जोडिन चाँहदै सांसद

मुख्य खबर सम्झना श्रेष्ठ मङ्लबार भदौ १२, २०८०

गत मंसिरमा संघ र प्रदेशको निर्वाचन पश्चात अधिकांश सांसदहरु नयाँ आएका छन् । केही सांसद मात्र दोहोरिए । संसदमा सांसदले बोल्नुअघि कसरी तयारी गर्छन् ? संसदमा बोल्न तयारी आवश्यक पर्छ की पर्दैन भन्ने विषयले पनि चर्चा पाइरहेको छ । नागरिकहरु आफ्नो क्षेत्रको सांसदले आफुहरुका कुरा जस्ताको तस्तै संसदमा बोलिदिउन् भन्ने चाहन्छन् । तर, सांसदले विषयवस्तुमा कतिको अध्ययन गर्छन् ? कतिको प्राथमिकता दिन्छन् भन्ने कुराले भुमिका खेल्दछ ।

संसदमा सांसदहरुले शुन्य समयमा बोल्दा आफ्नो क्षेत्रको समसामयिक विषयवस्तुको उठान गर्ने गर्छन् । शुन्य समय भनेको १ मिनेटभित्र आफ्नो भनाई राखिसक्नुपर्ने समय हो । आकस्मिक समयमा सांसदले आकस्मिक रुपमा भइपरि आएका विषयलाई संसदमा प्रस्तुत गर्ने गर्छन् ।

यस्तै विशेष समयमा बोल्नका लागि भने सांसदले के विषयमा बोल्ने हो भन्नेबारे पूर्ण जानकारी लिएर, तयारी गर्ने समय पाउँछन्, तर कतिपय अवस्थामा भने सांसदहरु विना तयारी संसदमा प्रस्तुत हुने गरेको पाइन्छ । कतिपय सांसदलाई विषय समयमा बोल्न कै लागि पनि अवसर नपाउने गरेको पाइन्छ ।

संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाबारे सांसद नै अनविज्ञ !

संसदमा सांसदहरुलाई कुनै पनि विषयमा जानकारी लिनुछ, अध्ययन अनुसन्धान गर्नुछ भने यसको पनि व्यवस्था रहेको छ । संघिय संसदमा संसदीय अध्ययन तथा अनुसन्धान शाखा रहेको छ । सांसदहरुले कुनै पनि विषयमा आवश्यक जानकारी लिन तथा अनुसन्धान, अध्ययनको आवश्यकता महसुस गरेमा यस महाशाखाले सघाउने छ । तर संघिय संसदमा यो शाखा पनि छ भन्नेबारे चाँही धेरै सांसदलाई जानकारी नभएको पाइएको छ ।

यूएनडीपी संसद सहयोग परियोजनाको सहकार्यमा नेपाल एफएम नेटवर्कले उत्पादन गरेको कार्यक्रम संसद र सांसदमा छलफल गर्दै सांसदहरुले यस्तो बताएका हुन् । संसदीय अध्ययन तथा अनुसन्धान शाखा सिंहदरबारमा आइतबार भएको कार्यक्रममा माओवादी केन्द्रका सचेतक रुपा सोशी चौधरी, सांसद कल्पना मिया, तारा लामा तामाङ, राष्ट्रियसभाका सांसद तुलप्रसाद विश्वकर्मा, संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाका प्रमुख बबिता मिश्र लगाएत सहभागी हुनुभएको थियो ।

सांसद कल्पना मियाले संसदीय अध्ययन तथा अनुसन्धान शाखामा जोडिन ढिलाई भएको स्वीकार गर्नुभयो । उहाँले संसद बैठकको खासगरी शुन्य समयमा बोल्नका समय पर्याप्त नहुने र निर्वाचित भएको क्षेत्रबाट नागरिकले फोनमार्फत् जानकारी गराएको विषयलाई उठाउँदै आएको बताउनुभयो । संसदमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाको विषयमा जानकारी नै नभएको सांसद मियाको भनाई छ ।

 

सांसद रुपा सोशी चौधरीलाई भने संघिय संसदमा रहेको संसदीय अध्ययन तथा अनुसन्धान शाखाको विषयमा जानकारी रहेछ । तर, उहाँले यस शाखामा अहिलेसम्म कुनै पनि जानकारी लिनकै लागि भने नगएको बताउनुभयो । सांसद चौधरी संसदमा बोल्ने विषय आफैँले नै अध्ययन गर्ने गरेको र विषयवस्तु प्रति ज्ञान बढाउन आवश्यक रहेको बताउनुहुन्छ ।

यस्तै सांसद तारा लामा तामाङ्ले पनि यस शाखाप्रति जानकारी नरहेको उल्लेख गर्नुभयो । उहाँले सांसदमा विषय विज्ञता अति आवश्यक रहेको बताउनुभयो । आफुले यस शाखाको बारेमा जानकारी पाइसकेपछि आफु निरन्तर सम्पर्कमा रहने बताउनुभयो ।

सांसद तुलप्रसाद विश्वकर्मा पनि यस शाखाबारे अनविज्ञ नै देखिनुभयो । सांसद विश्वकर्माले संसदमा कुनै नयाँ विषय आएको समयमा पार्टीमा छलफल गर्ने र अन्य कुरामा आफैँ नै अध्ययन गर्ने गरेको सुनाउनुभयो ।

संसदीय अध्ययन तथा अनुसन्धान महाशाखामा सम्पर्क गर्ने सांसद न्युन

अध्ययन तथा अनुसन्धानमा सांसदहरुको प्राथमिकता कम पर्ने गरेको संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाका प्रमुख बबिता मिश्र बताउनुहुन्छ । उहाँका अनुसार अहिलेसम्म ३/४ जना सांदद मात्र यस शाखामा आएका छन् । संसदीय अनुसन्धान तथा ज्ञान व्यवस्थापनका विषयमा शाखाले थुप्रै राम्रा कामहरु गरे पनि चासोको रुपमा नहेरिएको महाशाखा प्रमुख मिश्रले बताउनुभयो । कुनै पनि विषयमाथि तथ्य र तथ्यांक आवश्यक परेमा सांसदले सम्पर्क बढाउन जरुरी रहने उल्लेख गर्नुभयो ।

सहकार्य गर्ने, समन्वय बढाउने
छलफलमा भाग लिइसकेपछि सांसदहरुले यस शाखामा आफूलाई आवश्यक परेको विषयवस्तुको आवश्यक जानकारी लिने, सम्पर्क बढाउने बताएका छन् । सांसदहरुले आफुहरुमा ज्ञान, क्षमता र विषयवस्तुमा जानकारी लिन जरुरी रहेको बताएका छन् । सांसद विश्वकर्माले आफुलाई आवश्यक पर्ने विषयवस्तुमा अध्ययन, अनुसन्धानका लागि यस शाखालाई सम्पर्क गर्न प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सांसदको ज्ञान बढाउन, अध्ययन अनुसन्धान गर्न आफुले संसदमा कुरा उठाउने सांसद लामाले जिकिर गर्नुभयो । उहाँले यस कार्यक्रमले संसदमा कसरी अघि बढ्ने भन्नेमा सघाएको उल्लेख गर्नुभयो ।

 

Leave a Comment