महिनावारी विभेद सानो र सामान्य लाग्ने गम्भीर सवाल हो

बागमती बुधबार भदौ ६, २०८०


सम्पादक र सरोकारवालाले मर्यादित महिनावारी आमसञ्चार माध्यमको एउटा महत्वपूर्ण सवाल बन्नुपर्नेमा जोड दिइएका छन् । बुधवार काठमाडौमा आयोजना गरिएको सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा सम्पादक तथा सरोकारवालाले महिनावारीको सवाल समाजको मुख्य सवाल भएको निचोड निकालेका छन् । महिनावारी विभेद मानवअधिकार, संविधानको ठाडो उल्लंघन भएकाले सञ्चार माध्यमले महिनावारीका विषयलाई महत्वका साथ उठान गर्नुपर्ने सम्पादकहरुको भनाई छ ।

राधा पौडल फाउण्डेशनको सहकार्यमा मर्यादित महिनावारी पत्रकार सञ्जालले गरेको कार्यक्रममा मर्यादित महिनावारीका विश्व अभियन्तता राधा पौडेलले विषय हेर्दा सानो र सामान्य जस्तो लागेपनि महिनावारी विभेद गम्भिर विषय भएको बताउनुभयो । उहाँले महिनावारी विभेद सबै खाले हिंसाको जड भएको र त्यसलाई मर्यादित नबनाएसम्म महिला, किशोरी माथि हुने हिंसा कम गर्न नसकिने दावी गर्नुभयो ।

‘समुदायअनुसार महिनावारी बार्ने अभ्यास फरक भए पनि यो विश्वभरी, सबै समुदायमा छ’ विश्वभरीका उदाहरण पेश गर्दै पौडेलले भन्नुभयो, ‘महिनावारी हुनेहरू मर्यादापूर्वक बाँच्न पाउने अधिकार स्थापित गर्न नसकेसम्म बालविवाहसहित कुनै पनि हिंसा अन्त्य गर्न सकिदैन । यसले संविधानका सबै हक उल्लंघन भएको छ । ’

संयुक्त राष्ट्रसंघको एउटा तथ्यांक अनुसार, विश्वमा ५० करोडभन्दा धेरै महिला तथा किशोरीलाई आफ्नो महिनावारी व्यवस्थापनका लागि पर्याप्त सरसामानको पहुँच छैन, महिनावारी स्वास्थ्यको सुविधाबाट पनि वञ्चित छन् । नेपालमा ७० प्रतिशतभन्दा बढी महिला महिनावारी विभेदको सामना गरिरहेका छन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सञ्चारकर्मी आरती चटौतले समाजमा रहेका हरेक किसिमका छुवाछुत, विभेद र गलत धारणालाई परिवर्तन गर्न सञ्चारमाध्यम र सञ्चारकर्मीले सकारात्मक पहल गर्नुपर्ने माग गर्नुभयो । अहिलेसम्म सञ्चार माध्यममा जति पनि महिनावारीका विषय आउने गरेका छन् ती विषय महिनावारी भएका कारण गरिएको फरक व्यवहारका कारण महिला र किशोरीको मृत्यु घटनाले मात्र स्थान पाउने गरेको आरोप लगाउनुभयो । उहाँले मृत्युसम्म पुग्नुभन्दा अगाडिका प्रक्रिया र जुन महिलाको समस्या छन् ती सञ्चार माध्यमको नजर पर्ने नगरेको बताउनुभयो । पितृसत्तात्मक संरचना र सोचले पनि हाम्रो समाजलाई मनोवैज्ञानिक असर गरेको भन्दै विज्ञानले प्रमाणित गरेको महिनावारीलाई कसैले अछुतो र अभद्र व्यवहार नभई महिनावारीलाई मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले समाज परिवर्तनको लागि मानव सृष्टिको महत्वपूर्ण विषय महिनावारी भएको हुनाले यसलाई समाजमा बुझाउनसक्नुपर्ने बताउनुभयो । महिनावारीमा हुने विभिन्न छुवाछुत, विभेद लगायतका अन्धविश्वास हटाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने भन्दै उहाँले बाल्यकालदेखि नै यो विषयमा बुझाउन सकियो भने चाँडै परिवर्तन सम्भव रहेकोमा उल्लेख गर्नुभयो ।

जनता टेलिभिजनका प्रधान सम्पादक टंक पन्तले महिनावारीको सवाल महिलाको मात्रै नभएर सबै पुरुषहरुको पनि सवाल भएको बताउनुभयो । उहाँले सबै सञ्चार माध्यमले महिनावारी विभेदलाई बहुआयामिक दृष्टिकोणबाट हेर्नुपर्ने र बहसको विषय बनाउनुपर्ने सुझाव दिनुभयो ।
नेपाल समाचार पत्रका प्रधानसम्पादक सागर पण्डितले सञ्चार माध्यमले सामाजिक उत्तर दायित्व सञ्चारमाध्यले लिनुपर्नेमा जोड दिनुभयो । समाजमा विस्तारै परिवर्तन हुँदै आएको भन्दै नराम्रा अभ्यास र गलत धारणालाई परिमार्जन गर्दै समृद्ध समाज निर्माण गर्न सञ्चार माध्यमले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । धर्म कर्म, संस्कार र परम्परालाई समय सापेक्ष परिवर्नत गर्दै जाने र नयाँ पुस्तालाई यो बारेमा जानकारी दिनुपर्ने उहाँको धारणा थियो ।

नेपाल प्रेस अनलाईनका प्रधान सम्पादक मातृका पौडेलले मर्यादित महिनावारी बहुआयामिक विषय भएको हुँदा समाजका सबै तहले अपनत्व ग्रहण गर्नुपर्ने बताउनुभयो । उहाँले मर्यादित महिनावारीका लागि सरकार, स्थानीय निकाय, सरकारी र गैह्रसरकारी संघ संस्था र व्यक्ति पनि आफू सचेत रहन जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले सामाजिक अन्धविश्वास र कुरीति हटाउन धार्मिक रुपले पनि सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै सञ्चारकर्मी चन्दा विष्टले महिनावारी मैत्री कार्यस्थलमा बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै सञ्चारकर्मी लोग्शरी कुँवरले महिनावारीबारे गलत बुझाई र अभ्यासका कारण अझै पनि किशोरीहरु पछाडि परेका उल्लेख गर्नुभयो । समाजका अग्रणी व्यक्तित्वहरु र स्थानीय निकायका जन्रपतिनिधिले त्यसको लागि उदाहरणीय काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विश्वभरी महिनावारीका ५ हजार विभेदकारी नामकरण रहेको र नेपालमा पनि क्षेत्र र समुदाय अनुसार महिनावारीलाई फरक फरक नामले चिनिने दृष्टान्त सार्वजनिक गरिएको थियो ।

नेपालमा महिनावारीलाई जनाउन बोलीचालीमा प्रयोग हुने ‘बाहिर सरेको, पण्डित्नी भएको, माइत गएको, महारानी भएको, कमिनी भएको, दमिनी भएको, छुई, छाउ, रजस्वला, मासिक धर्म, रक्तस्राव, महिनावारी, छाउपडी, छाउ, पड्किएको, फुटेको, फड्केको, कागले ठुँगेको, जुकाले टोकेको, बाहुनी भएको, पुडो सरेको, पन्छिएको’ आदि शब्दावलीलाई ‘छाउ, छुई र छाउपडी’ ले प्रतिस्थापन गरेको अध्ययनको तथ्य समेत कार्यक्रममा सार्वजनिक गरिएको छ ।

 

Leave a Comment