यतिबेला नेपालमा गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग देशैभर फैलिएको छ । क्याप्रीपक्स भाइरसको संक्रमणबाट लाग्ने यो रोग गाईमा अत्यधिक देखिन्छ भने भैँसीमा विरलै देखिन्छ । अफ्रिका महादेशमा उत्पति भएको यो रोग सन् २०१२ पछि मध्यपूर्व, दक्षिणपूर्वी युरोप हुँदै सन् २०१९ मा एशियाको बंगलादेश चीन लगायत भारतमा समेत फैलिएको थियो ।
यो रोग नेपालमा २०७७ सालको साउनमा मोरङमा पहिलो पटक देखिएको थियो । यस्तै २०७९ चैत्रमा कोशी प्रदेशमा देखिएको थियो । अहिले ७७ वटै जिल्लामा यो रोगको संक्रमण फैलिएको कृषि तथा पशुपन्छि विकास मन्त्रालय पशु विभागका वरिष्ठ पशु विकास अधिकृत एवम् सुचना अधिकारी डाक्टर चन्द्र ढकालले जानकारी दिनुभयो ।
पशुमा उच्च ज्वरो (१०४ फरेनहाइट वा माथि) आउने र शरीरभरि साना–ठूला गिर्खा देखिने लक्षण देखिएको छ । शरीरका विभिन्न ठाउँमा विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुन वरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खा देखिन्छन् ।
यसका साथै कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिँज धेरै निकाल्ने, ‘लिम्फ नोड’हरू सुनिने, घाँटी तल पानी भरिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र पछि बाँझोपन देखिन सक्नेजस्ता लक्षण यस रोगमा देखिन्छन् ।
अहिले झण्डै २ लाख पशु संक्रमित छन्
मन्त्रालय पशु विभागका वरिष्ठ पशु विकास अधिकृत ढकालका अनुसार अहिलेसम्म लम्पि स्किन रोगका कारण ११ लाख भन्दा बढी पशु संक्रमित भएका छन् । अझै १ लाख ८० हजार को हाराहारीमा पशुहरु सक्रिय संक्रमित छन् भने यो रोग लागेर निको हुने पशुको संख्या करिव ९ लाख रहेको छ । अहिलेसम्म ४ लाख पशुहरुलाई लम्पि स्किन विरुद्धको खोप लगाइएको ढकालले नेपाल एफएम नेटवर्कलाई जानकारी दिनुभयो ।
लम्पि स्किनका कारण आम किसान ठुलो पिडामा रहेका बेला कृषि तथा पशुपन्छि विकास मन्त्रालय पशु विभागको भुमिका के हो ? भन्ने हाम्रो जिज्ञासामा पशु विकास अधिकृत ढकालले पशुमा देखिएको यस रोगबारे किसानलाई जानकारी दिने, सचेतनामुलक सन्देशहरु संचारमाध्यमबाट प्रकाशन एवम् प्रसारण गर्ने, स्थानिय पालिकासँगको समन्वय बढाउने, पशुहरुलाई खोपको व्यवस्था लगाएतका काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार सरकाले लम्पि स्किन रोगको उपचार एवम् न्युनिकरणका लागि स्रोतको व्यवस्था गरेको छ । पालिका, प्रदेश र संघिय सरकारले खोप तथा उपचारका लागि व्यवस्था मिलाएको जनाएको छ । यसका साथै क्षती व्यहोरेका किसानलाई राहतको मापतण्ड बनाउने कार्य मन्त्रालयले गरिरहेको ढकालको भनाई छ ।
यो रोग देखिएमा के गर्ने
लम्पि स्किन रोगका लक्षण देखिएका पशुलाई छुट्टै राख्ने, बथानमा नमिसाउने, सार्वजनिक स्थानमा रहेको पानी नखुवाउने लगाएतका उपाय अपनाउन ढकालले आग्रह गर्नुभयो ।
यस्तै रोग लागिसकेको भए ज्वरो कम गराउने औषधी खुवाउने, प्रशस्त मात्रामा पानी खुवाउने, हरियो पशुले मन पराउने घाँस खुवाउने, सख्खर राखेको पानी तथा दाना खुवाउन जोड दिने जस्ता उपाय अपनाउन सकिने ढकालले बताउनुभयो ।
लम्पि स्किन रोग लागेका पशुको दुध तथा मासु खान हुन्छ की हुँदैन ? हाम्रो यो जिज्ञासामा ढकालले भन्नुभयो, लम्पि स्किन रोग पशुबाट मानिसमा सर्ने खालको रोग होइन, त्यसैले यो संक्रमित पशुको दुध तथा मासु खाँदा मानिसमा यो रोग सर्दैन । तर, दुध राम्ररी तताएर मात्र पिउनु पर्छ र मासु राम्ररी पकाएर मात्र खानु आवश्यक छ ।
लम्पि स्किन विरुद्धको खोप रोग लाग्नुभन्दा अघि नै लगाउन जरुरी रहेको उहाँले बताउनुभयो । रोगको संक्रमण देखिएको अवस्थामा खोप नलगाउनु नै उत्तम हुने उहाँको भनाई छ ।