जुम्लामा स्थानीयको घरमा आगो लगाउदै हिड्ने युवा पक्राउ

कर्णाली मङ्लबार साउन २३, २०८०

 

जुम्लामा एकै रातमा सात स्थानमा आगो लगाएर क्षति पुर्याएको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । साउनको पहिलो साता ७ वटा घर, अटो र ट्याक्टर जलाउने जुम्लाको गुठिचौरका रत्नप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । ३० बर्षीय अधिकारी जुम्लाको गुठिचौर गाउँपालिका वडा नं.४ उखाडी गाउँ निवासी हुन् । उनी अहिले चन्दननाथ नगरपालिका २ भण्डारीबाडा बस्ने गरेको जुम्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयोे ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले मंगलबार पत्रकार सम्मेलन मार्फत गुठिचौरका ६ घर,चन्दननाथको एक गरी ७ घर र एक ट्याक्टर तथा एक अटो जलाएर श्रृखंलाबद्ध अपराधिक क्रियाकलाप गर्ने रत्न प्रसाद अधिकारीलाई साउन ६ गते स्थानियहरुको बीचमा हो हल्ला गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका अधिकारीसंग सोधपुछ गर्दा गुठिचौरका ६ सहित ७ घरमा भएको श्रृंखलाबद्ध आगलागीको घटनाबारे तथ्य खुलेको प्रहरी नायव उपरिक्षक कार्कीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पक्राउ परेका अधिकारी साँझको समयमा मुखमा कालो माक्स लगाएर विभिन्न वहानामा ति स्थानहरुमा पुगेका थिए । आफू पुगेको स्थानमा चाहे अनुसारको काम गर्न नपाएपछि आगो झोसेर हिड्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी लुटपाट गर्ने उदेश्यका साथ ति स्थानहरुमा पुग्ने गरेका थिए ।

आगलागीको घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले केही दिन अघि उनलाई पक्राउ गरेर सोधपुछ गरिरहेको थियो । अनुसन्धानका क्रममा अधिकारीले सबै घटना एक्लै गरेको दाबी गर्दै आएको डिएसपी कार्कीले बताउनु भयो । यद्यपी घटनामा अन्यको समेत संलग्नताको बिषयलाई लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले आगालागीबाट भएको क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ ।

Leave a Comment