मकवानपुर बागमती गाउँपालिका वडा नम्बर ५ सिक्रे दोभानको पहिरोमा परी बेपत्ता भएका एक जनाको जीवितै उद्धार गरिएको छ ।
मकवानपुर र काभ्रेको सिमानामा रहेको सिक्रे दोभानमा पहिरोमा बेपत्ता भएका पासाङ घिसिङको जीवितै उद्धार गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईले जानकारी दिनुभयो । उहाँका अनुसार घिसिङलाई उपचारका लागि हेटौंडा ल्याइएको छ ।
पहिरोमा परी अझै ५ जना बेपत्ता भएका छन् । उद्धार गरिएका पासाङ सिन्धुली हरिहरपुर–१ कोकटीबाट पाहुना लाग्न त्यहाँ गएका थिए ।
पहिरोले स्थानीय अक्कल बहादुर स्याङ्तानको घर बगाउँदा स्यान्तानकी श्रीमती ५५ वर्षकी सन्तमाया स्याङ्तानलाई उद्धार गरी अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस पहिरोमा ६० वर्षीय अक्कल बहादुर स्याङ्तान, उहाँको छोरी २२ वर्षीय शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाति ४ वर्षीय मिलन पहरी, नातिनी डेढ वर्षिय दिव्या पहरी अझै हराइरहेका छन् ।
उनीहरुको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी सेढाईले नेपाल एफएम् नेटवर्कलाई जानकारी दिनुभयो । पहिरो गएको स्थानमा पुग्न भिरालो ठाउँमा रहेको र एक्लो घर रहेको सेढाइँको भनाई छ ।