संसद, सांसद र पत्रकार जनताको सेतु बन्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । संसद र संचार विषयमा आज काठमाडौमा भएको एक कार्यक्रममा संसदिय रिपोर्टिङ गर्ने पत्रकार र सांसदहरुबीच अन्तरक्रिया भएको हो । सञ्चारकर्मीहरुले नागरिकले खुला ठाउँमा पोख्ने विषय संसदमा किन पोखिदैन ? प्रश्न गरेका छन् ।
कार्यक्रममा सरोकारवालाहरुले नागरिकसँग संसद कति जोडियो भन्ने विषय महत्वपूर्ण हुने बताएका छन् । संसद बलियो भयो भने मात्र नागरिक बलियो हुने धारणा व्यक्त भएका हुन् ।
कार्यक्रममा संसदीय सञ्चारकर्मीले सांसद र संसद सचिवालयको कमजोरीहरुबारे टिप्पणी गरेका थिए । उनीहरुले कसंसदीय भूमिका प्रभावकारी हुन नसकेको बताएका हुन् । संसदीय पत्रकार समाजका अध्यक्ष मनोज सत्यालले पछिल्लो समय संसदको प्रभावकारीतामा प्रश्न उठ्ने गरेको बताउनुभयो ।
यस्तै सञ्चारकर्मी जगन्नाथ दुलालले सांसदहरुले दलको कार्यकर्ता मात्रै भन्दा पनि जनताको आवाज बोल्न स्वतन्त्र हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सञ्चारकर्मी तुलसी सापकोटाले सञ्चार गृह र सांसदबिच सहकार्य हुनपर्नेमा जोड दिनुभयो । उहाँले महँगी लगायत जनसरोकारका विषय प्राथमिकता दिनुपर्नेमा सांसदहरु अन्यत्र विषयवस्तुमा रुमलिएको बताउनुभयो ।
सञ्चारकर्मी रघुनाग बजगाँईले संसद, सांसद वा मिडिया प्रतिफल आउने गरि काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संसदमा सांसदहरु नै अन्योलमा पर्नु दुखद् रहेको उल्लेख गर्नुभयो । यस्तै पत्रकार रमेश वाग्लेले कतिपय विद्यययक हचुवाको भरमा बन्ने गरेको टिप्पणी गर्नुभयो ।
विकास कार्कीले संसदमा फोटो पत्रकारलाई महत्व नदिएको र पत्रकारको उपस्थितिलाई बढाउन संसद सचिवालयले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
संघीय संसद सचिवालयका सचिव डाक्टर रोजनाथ पाण्डेले सांसदहरु विधेयकप्रति अन्यौल रहेको बताउनुभयो । उहाँले महत्वपुर्ण विषयवस्तुमा भन्दा पनि सानोतिनो कमजोरीलाई लिएर समाचार बन्ने गर्दा नकारात्मक समाचारप्रति जनताको ध्यान जाने गरकेकोमा सञ्चारकर्मीको ध्यानाकर्षण गराउनुभयो ।
संसदीय प्रक्रियाका जानकार एवम् पत्रकार राजेन्द्र फुयाँलले संसदमा भएका काम कारवाहीहरुलाई सञ्चारकर्मीले समेट्न नसकेको यर्थात औँल्याउँदै उहाँले संसद र मिडियाबिच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरु नै विधेयकप्रति असन्तुष्ट
सांसदहरु विधेयकप्रति सन्तुष्ट भने बन्न सकेका छैनन् । विधेयक निर्माणमा सांसदको महत्वपूर्ण भूमिका हुने भए पनि संसदीय प्रक्रियाप्रति सांसदहरुले नै गुनासो गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् संसदीय दलका सचेतक सन्तोष परियारले संसद एउटा अभ्यास भएको बताउुभयो । उहाँले मिडियाले सांसदहरुलाई सार्वभौम बनाउन पार्टीलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो । संसदमा सांसदहरु दलभन्दा माथि उठ्न सक्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।
जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झाले सांसदको भूमिका कस्तो हुनुपर्ने भन्नेमा जनताले बुझ्न नसकेको बताउुभयो । सांसद झाले चुनावमा कानून निर्माण, निति निर्माणको कुरा भन्दा पनि धारो, कुलो बनाउने विषयमै सांसदहरु अल्झिने अवस्था रहेको बतानुउभयो ।
कांग्रेस सांसद आशा विकले संसदलाई भूमिका विहिन बनाउनु नहुने उल्लेख गर्नुभयो । पत्रकार र सांसदबिच वैमनुष्यता छ, नेतालाई जनताले देख्नै नहुने अवस्था आउनुमा सञ्चार माध्यम सच्चिनुपर्छ, उहाँले भन्नुभयो ।
एमाले सांसद ठाकुर गैरले मन्त्रीपरिषद्ले शिक्षा विधेयकलाई संसदमा लैजाने कुरा पारित गरेपनि आफूहरुले उक्त विधेयक प्राप्त गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले सांसदहरुले सचिव र मन्त्रीलाई योजना माग्नु पर्ने बाध्यता रहेको बताउनुभयो । सांसद गैरेले संसदका विषयमा जनतालाई बुझाउनुपर्ने कुरा बुझाउन नसक्नुमा आफ्नो पार्टीको पनि कमजोरी रहेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसद जनउत्तरदायि बन्नु पर्ने बताउनुभयो । उहाँले सांसदलाई मिडियाले सकारात्मक ढङ्गले दवाव दिनुपर्ने बताउनुभयो । आलोचना तथा सुझावका विषयमा समाचार बन्दैनन्, यसलाई पत्रकारले सुधार्नुपर्छ, उहाँले भन्नुभयो । सरकार, सदनमा भएका कमी कमजोरी सुधार्न सांसद, पत्रकार सबैको सहकार्य आवश्यक रहेको सांसद दाहालको भनाई छ ।