काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसद र प्रदेसभाको सहकार्य अब नयाँ तरिकाले अगाडी बढ्ने बताउनु भएको छ । उहाँले कानुन निर्माण, संसदीय अनुगमन, मुल्याङ्कनका विषयमा साझा रुपमा सहकार्य गर्ने बताउनुभयो ।
कार्यक्रम संसद र सांसदमा नागरिकका प्रश्नको जवाफ दिदै घिमिरेले संघीय संसद् र प्रदेश सभाहरूबीच पारस्परिक सिकाइ, साझा सवालहरूको पहिचान, सभाका कामकारवाहीलाई थप पारदर्शी, पहुँचयोग्य, उत्तरदायी र प्रभावकारी बनाउँदै प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताउनुभयो । भरखरै सम्पन्न संघीय र प्रदेशसभा नेतृत्व भेला र अनुभव आदान प्रदानमा पनि त्यस विषयमा छलफल भएको उहाँको भनाई छ ।
संविधानप्रदत्त महिलाको हक, अधिकार कार्यान्वयन गर्न र महिला सशक्तीकरणका लागि सो संसदीय संयन्त्र निर्माण हुने भएकाले महिलाका मुद्दामा पनि संसदले विशेष चासो राख्ने सभामुख घिमिरेले बताउनुभयो । सभामुख घिमिरेले संघ र प्रदेशसभा बीचको सम्बन्धलाई कानुनतः मिलाउनु पर्ने, प्रदेश सभालाई जनअपेक्षा अनुसार बनाउने तथा संसद् र सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा गहन रुपमा छलफल भएको जानकारी दिनुभयो ।
संघीय संसद् र प्रदेशसभाबीच पारस्पारिक सिकाई, साझा सवालहरूको पहिचान, सभाका काम कारबाहीहरूलाई थप पारदर्शी, पहुँचयोग्य, उत्तरदायी र प्रभावकारी बनाउन प्राथमिकताका साथ कार्यान्वयन गर्दै जाने सभामुख घिमिरेको भनाई छ । आवश्यक कानुन बनाउँदै मुलुकको संघात्मक व्यवस्थालाई जनताको हितमा अधिकतम प्रयोग गर्नुपर्ने भन्दै उहाँले अहिले तीन तहको सरकार सहितको संघीय व्यवस्थालाई कार्यान्वयनबारे विश्वका साथै नेपाली जनताले ठूलो आकांक्षासाथ हेरिरहेका बताउनुभयो ।
राष्ट्रिय सभा अध्यक्ष

राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संघीय संसद र प्रदेशसभाबीच सहकार्य भएमात्रै संघियता बलियो हुने र नागरिकका मुद्दामा संसदले काम गर्न सक्ने बताउनुभयो । उहाँले संघीय संसद र प्रदेशसभालाई प्रभावकारी बनाउन राष्ट्रिय सभाले भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रम संसद र सांसदमा कुराकानी गर्दै उहाँले मुलुकमा राजनीतिक उपलब्धि भएपनि जनताले सुशासनको अनुभूति गर्न पायो-पाएन भन्ने कुरा महत्वपपूर्ण रहेको बताउनुभयो ।
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले संसद् प्रभावकारी बनाउनका लागि सभा सञ्चालन गर्नेले निष्पक्षतामा ध्यान दिनुपर्ने र सांसद्हरुले पनि सिर्जनात्मक भएर प्रस्तुत हुनुपर्ने सुझाव दिनभुयो । नागरिकको सुझाव र गुनासो सुन्ने छुट्टै सयन्त्र र कानुनको अडिट गर्ने फोरम संसदमा आबश्यक रहेकाले त्यसमा पहलकदमी लिने उहाँले बताउनुभयो ।
कार्यक्रम संसद र सांसदमा कुराकानी गर्दै राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्याल, कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ, वागमती प्रदेशसभाका सभामुख भुवन पाठकले पनि संघ र प्रदेशको समुन्वलाई बलियो बनाउँदै सिकाई पनि आदान प्रदान गर्ने बताउनुभयो ।