उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुन सबैलाई बराबरी हुने बताउनुभएको छ । आज सोमवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले धनीलाई एउटा, गरिबलाई अर्को कानुनी कारबाही हुने कुरा सरकारलाई सह्य नहुने बताउनुभयो ।
मन्त्री श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा अनुसन्धानमार्फत तथ्य, प्रमाणको आधारमा पुग्नुपर्ने ठाउँसम्म पुगेर कारबाही गर्ने बताउनुभयो ।
उहाँले नेताहरू दोषी देखिएपछि पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाउँदा त्यही पार्टीका अन्य नेताहरूले विरोध गर्ने, व्यवसायी र कर्मचारीहरूले पनि आफूलाई कारबाही गर्नु हुँदैन भनेर विरोध गर्ने परम्पराको विकास हुँदै गएको बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले सरकार कुनै पनि हालतमा अपराधीलाई छुट दिने पक्षमा नरहेको र प्रमाणसँगै सबै दोषीलाई कारबाही हुने प्रतिबद्धता जनाउनुभयो ।