काठमाडौं । नेपालमा रेडियोहरुले गीतकार तथा संगितकार शुरेश अधिकारीका कुनैपनि गीतहरु रेडियोबाट प्रसारण नगर्ने भएका छन् । अधिकारीले लेखेका, संगित दिएका वा उनी संलग्न कुनै सांगेतिक कृति रेडियोबाट प्रशारण नगर्ने रेडियोका छाता संगठनहरुले घोषणा गरेका छन् ।
नेपालका स्वतन्त्र रेडियोका संचालक तथा सम्वद्ध संघ संस्थालाई लक्षित गरी सुरेश अधिकारीको नामबाट सञ्चालित फेसबुक मार्फत अमर्यादित गाली गलौच, मानमर्दन र भ्रम सिर्जना गर्ने आसय सहितको अभिव्यक्ति दिएकाले त्यसप्रति आपत्ति जनाउँदै अघिकारीलाई रेडियोहरुले बहिष्कार गर्ने निर्णय गरेका हुन् ।
नेपाली संगीत क्षेत्रका एकजना सर्जकका रुपमा सामाजिक पहिचान बनाएका व्यक्तिवाटै यसप्रकारको तुच्छ र अमर्यादित अभिव्यक्ति सार्वजनिक हुनु कुनै अर्थमा पनि सभ्य समाजमा सुहाउँदो कुरा नभएको विज्ञप्तीमा उल्लेख छ । अधिकारीको यस्तो अभिव्यक्तिले समग्र नेपाली संगीत क्षेत्रकै गरिमा घटाउने मात्रै होइन सञ्चार माध्यमसँगको सम्वन्धमा समेत दुरी बढाउने कार्य गरेको पनि रेडियोका छाता सस्थाहरुले बताउका छन् ।
नेपाल, ब्रोडकाष्टिङ्ग एसोसिएसन अफ नेपाल (वान), सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), नेपालका स्वतन्त्र रेडियो सम्वद्ध छाता संगठन, रेडियो ब्रोडकाष्टर्स फोरम (आरवीएफ)ले सयुक्त रुपमा विज्ञप्ती निकालेर अधिकारीका संगीत/सृजना बहिष्कार गर्न रेडियोहरुलाई निर्देशन दिएका हुन् ।
विज्ञप्तीमा संगीत रोयल्टी संकलन समाजका नाममा स्थापित एक गैर सरकारी तथा गैर नाफा मूलक संस्थाका नाममा राज्यको चौथो अंगको रुपमा स्थापित संचार उद्योगको सुसञ्चालन गर्न पाउने नेपालको संविधानको भाग ३ “मौलिक हक र कर्तव्य” अन्तर्गतको १९ औं दफा (संचारका हक) को ठाडो उलंघन गर्दै आम संचार गृहका उपकरणहरु समेत उठाउने बिषयमा समेत दिएको अभिव्यक्ति प्रति खेद व्यक्त गर्दै, नेपाल सरकार संग आम संचारगृहको सुरक्षाको माग समेत गर्दछौँ भनिएको छ ।