लेखक शिवप्रसाद जैशीको उपन्यास ‘बाँठी’ सार्वजनिक

समाज NFM संवाददाता आइतवार असार १०, २०८०

काठमाडौं । स्रष्टा तथा लेखक शिवप्रसाद जैशीको उपन्यास ‘बाँठी’ सार्वजनिक भएको छ । महिलामा हुने बाँझोपनले झेल्नु पर्ने सामाजिक विभेदलाई जैशीले उपन्यासको विषयवस्तु बनाउनु भएको छ । सुदूरपश्चिम र कर्णाली विशेषगरि अछाममा बाँझोपन भएका महिलालाई बाँठी भन्ने गरेका छन् ।

उपन्यासमा बाँझोपनको समस्या रहेकी गौमतीलाई प्रमुखपात्रको रुपमा प्रस्तुत गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार पूर्वउपप्रधानमन्त्री डा.भीम रावलले पुस्तक सार्वजनिक गर्नुभएको हो ।

पुस्तक विमोचन गर्दै डा. रावलले अछामको केन्द्रीयतामा यहाँको संस्कार, संस्कृति, भाषा र समस्यालाई गहिरोसँग पक्रेर उपन्यास कृति प्रकाशित गरेकामा कृतिकारलाई बधाइ दिनुभयो । बिग्रँदै गएको राजनीतिक पर्यावरण सुधार्न पनि स्रष्टाहरूले सक्रियतापूर्वक कलम चलाउनु पर्ने आवश्यकता रहेको उहाँको भनाई थियो । शब्दमार्फत महिलाले झेल्नु पर्ने विभेदलाई गहिरोगरि उठान गरेकोमा लेखक जैशीलाई धन्यवाद पनि दिनुभयो ।

कृति विमोचनकार्यक्रममा सहभागि स्रष्टा तथा सहभागि

कार्यक्रममा समीक्षकहरुले उपन्यासको कथा, भाषा, परिवेश र संस्कृतिमा अछामी आञ्चलिकता झल्किने बताए । साहित्यकार नरनाथ लुइँटेल, महेशविक्रम शाह र डा. जीवेन्द्रदेव गिरीले ‘बाँठी’ उपन्यासमा प्रस्तुत सुदूरपश्चिमका महिलाहरूका समस्यामा केन्द्रित विविध पक्षमाथि प्रकाश गरिएको भन्दै टिप्पणी गर्नुभयो । उहाँहरूले उपन्यासको कथानक, भाषा, परिवेश र संस्कृतिमा अछामी आञ्चलिकता झल्किएको बताउनुभयो ।

अछामी परिवेशलाई टपक्क टिपेर तिनको वस्तुस्थितिको चित्रण गरेको आञ्चलिक उपन्यास भन्दै कथाकार महेशविक्रम शाहले यो उपन्यासले सुदुरपश्चिमलाई चिनाउन सक्षम हुने बताउनुभयो । अछामको संस्कृति, धार्मिक तथा सामाजिक परिवेशलाई चिनाउन यस प्रकारका विधाका साहित्य लेख्नुपर्ने विचार व्यक्त गर्दै कथाकार शाहले उपन्यासले भूगोल चिनाउन सक्छ भन्ने धारणाा राख्नुभयो।

भूडी प्रशासनले प्रकाशित गरेको उपन्यासका विषयबस्तु र शब्द दुईटैलाई बाहिर ल्याएकोमा सांसद शेरबहादुर कुँवरले पनि धन्यवाद दिनुभयो ।

उपन्यासले महिलाको बाँझोपन र त्यसले समाजमा पारेको प्रभावका साथै समाजले महिलामाथि गरेको दुर्व्यवहारका साथै उत्पीडनमा परेको पीडालाई छाम्न सकेको देखिन्छ । महिलामाथिको विभेदलाई गौमति पात्रको आवाजबाट उनीमाथि समाज र परिवारले गरेको दुर्व्यवहार र त्यसले पारेको मनोविज्ञानको उपन्यासमा चित्रण पनि गरिएको छ ।

Leave a Comment