मनसुनजन्य विपद्मा परि पुर्वी जिल्ला प्रभावित, दर्जनौँ मानिस बेपत्ता

समाज सम्झना श्रेष्ठ आइतवार असार ३, २०८०

मनसुन भित्रिएको केहि दिनमै बाढी र पहिरोका घटना सुरु भएका छन् । गत बुधवारदेखि देशको पूर्वी भागबाट सुरु भएको मनसुन बिस्तारै पश्चिमी क्षेत्रमा फैलिने क्रममा रहेको छ ।

मनसुन भित्रिएको पूर्वी क्षेत्रमा शनिबारदेखि लगातारको वर्षाले सङ्खुवासभा, पाँचथर र ताप्लेजुङ जिल्लामा बाढी पहिरोले ठूलो क्षति गरेको छ । यि तीन जिल्लामा दर्जनौँ मानिस प्रभावित भएका छन् ।

सङ्खुवासभामा बाढिमा परि सुपर हेवा हाइड्रोपावरका १७ जना कर्मचारी बेपत्ता भएका छन् । १ जनाको मृत्यु भएको छ भने ३ जनाको उद्धार गरि उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले नेपाल एफएम नेटवर्कलाई जानकारी दिनुभयो ।

पाँचथरमा पनि बाढीमा परि ४ जना बेपत्ता भएका छन्, २ जनाको शव भेटिएको छ भने १ जना घाइते रहेका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिनुभयो ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । बेपत्ता मध्ये एक जनाको शव भेटिएको छ ।

बाढी र पहिरोका कारण कोशी प्रदेशमा चार जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार तीन जना महिला र २५ जना पुरुष बेपत्ता भएका हुन् । बेपत्ता मध्ये सबैभन्दा धेरै संखुवासभाका रहेका छन । पुर्वी क्षेत्रमा भएका मनसुनजन्य घटनाको विषयमा आजको संसदमा सांसदहरु योगेश भट्टराई र दिपक खड्का लगाएतले सरकारको ध्यानाकर्षण गराएका छन् ।

बाढी प्रभावित जिल्लाहरुमा अहिले पनि वर्षा भइरहेको छ । कोशी, बागमती प्रदेशमा आज राती र भोली पनि वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरको भनाई छ ।

यसवर्षको मनसुनमा देशभर १२ लाख ५४ हजार जनाभन्दा धेरै नागरिक प्रभावित हुने पूर्वानुमान छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् न्युनिकरण तथा क्षती न्युनिकरणका लागि राहत, उद्धारलाई चुस्तदुरुस्त बनाइएको प्राधिकरणका प्रवक्ता ध्रुव बहादुर खड्का बताउनुहुन्छ ।

मनसुनजन्य विपद्मा परि वर्षेनी सयौँ मानिसको मृत्यु हुने गरेको छ । बाढी पहिरोको विपत्तीमा परेका नागरिकका लागि समयमै उद्धार तथा राहतको व्यवस्था मिलाउन नसकेको भन्दै सरकारको आलोचना हुने गरेको छ । तीनै तहका सरकार विपद् व्यवस्थापन तथा क्षती न्युनिकरणमा लाग्नु अहिलेको आवश्यकता हो ।

Leave a Comment