नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुर–बालकृष्णसहित १६ जनालाई थुनामा पठाउने आदेश

Breaking शुक्रबार असार १, २०८०

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको मुद्दाका प्रतिवादीमध्ये १६ जनालाई थुनामा राख्ने आदेश दिइएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसपछि २ जनालाई भने धरौटीमा छाड्ने आदेश दिइएको छ ।

यस प्रकरणमा पक्राउ परेका १८ जना प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि तारेखमा रिहा गर्ने भन्ने प्रयोजनका लागि भएको थुनछेक बहसमा २ लक्ष्मी महर्जन र टंक गुरुङलाई धरौटीमा रिहा गर्ने आदेश भएको हो । आरोपित लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको अदालतले जनाएको छ ।

यस्तै टोपबहादुर रायमाझी, बालकृष्ण खाणसहित अन्य १६ जना प्रतिवादी भने पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालतमा यो मुद्दामा ११ दिनसम्म लगातार थुनछेक बहस भएको थियो ।

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनामध्ये १८ जना पक्राउ परेका थिए । मुद्दा चलाइएकामा १२ जना अझै फरार छन् ।

Leave a Comment