नेपालमा यस वर्षको मनसुन आजबाट भित्रिएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ अर्थात् हिजो हो । तर, यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बुधबार नेपाल आगमन भएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ । नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन फैलिंदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । यद्यपि यो सम्भावना स्थानपिच्छे फरक–फरक हुने छ । नेपालमा जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मानिन्छ ।
यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजारभन्दा धेरै नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।