चितवनमा मर्यादित महिनावारी विशेष तालिम सम्पन्न

मुख्य खबर शनिबार जेष्ठ २७, २०८०

राधा पौडेल फाउन्डेशनले चितवनमा मर्यादित महिनावारी विशेष तालिम (tot) सम्पन्न गरेको छ ।  ४ दिने तालिममा देशका सातै प्रदेशबाट ४० जनाले सहभागिता जनाएका थिए ।

राधा पौडेल फाउन्डेशनको अगुवाईमा ग्लोबल साउथ कोलिजन फर डिग्नीफाईड मेन्सुरेशन संजालले अन्तराष्ट्रिय स्तरमा ६५ वटा देशहरुसँग मिलेर काम गरिरहेको छ । यस संजालले २०१९ डिसेम्बर ८ बाट अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउदै आईरहेको छ ।

तालिममा विभिन्न क्षेत्रका व्यक्तिहरु, संघ संस्थाका प्रतिनिधीहरु सहभागी भएका थिए । राधा पौडेल फाउन्डेशनसँगको सहकार्यका रुपमा साथ र सहयोग गर्ने सेती फाउन्डेशन, करुणा फाउन्डेशन, जर्मन को–अप्रेशन र नेपाल एफएम नेटवर्कलाई फाउन्डेशनका तर्फबाट डिग्नीफाईड मेन्सुरेशन यूके च्याप्टरका संयोजक सुधा गुरुङ्गले धन्यबाद ज्ञापन गर्नुभयो । त्यस्तै ऐड्स हेल्थकेयर फाउन्डेशनले पनि विभिन्न समयमा सहयोग गर्दै आएकामा राधा पौडेलले आभार प्रकट गर्नुभयो ।

नेपाल एफएम नेटवर्कका कार्यकारी निर्देशक गोबिन्द खड्काले मर्यादित महिनावारीबारे १ हजार वटा शृखंलाबद्ध कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अहिलेसम्म ९६ वटा कार्यक्रमहरु रेडियोबाट र अनलाईनबाट प्रसारण भैसकेका छन् ।

नेपाल एफएम नेटवर्कले मर्यादित महिनावारीबारे साप्ताहिक रुपमा कार्यक्रम संचालन गर्नुका साथै मर्यादित महिनावारीबारे सचेतनामुलक सुचना प्रसारण गरिरहेको छ ।

यस तालिम सकिए लगतै सात प्रदेशका १४ जना पत्रकारहरुको अर्को टोलीलाई पत्रकारीता वृत्ति तालिम पनि दिइएको छ ।

Leave a Comment