उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षा याममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
आज कुरिनटार चितवनस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो । उहाँले वर्षायाममा बाढी, पहिरो र डुबानका समस्याहरु आउने भन्दै यसको व्यवस्थापनका लागि जुट्नुपर्ने बताउनु भयो । उहाँले सशस्त्र प्रहरी बललाई विपद् व्यवथापनका लागि तयारी अवस्थामा रहन आग्रह गर्नुभयो ।
गृहमन्त्री श्रेष्ठले संगठनले दिएको जिम्मेवारी पूरा गर्दै सशस्त्रले विपद्को बेलामा जनताको सेवा गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालले सातै प्रदेशमा विपद् व्यवस्थापन टोली राख्न प्रस्ताव गर्नु भएको थियो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ समक्ष उहाँले पानीजन्य विपद्मा तत्काल परिचालित हुनसक्ने गरि सातै प्रदेशमा टोली राख्न प्रस्ताव गर्नु भएको हो ।
सशस्त्र प्रहरी बलले थप २० जनालाई गोताखोरको प्रशिक्षण दिएको छ । चितवनको कुरिन्टारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद व्यवस्थापन तालिम शिक्षालयले २० जनालाई गोताखोरको प्रशिक्षण दिएको हो। प्रशिक्षणको समापन बिहीबार कुरिन्टारको त्रिशूली नदी किनारमा गरिएको थियो।
सशस्त्रका १९ जना र नेपाल प्रहरीका एक जना जवानले ५ हप्ते तालिम लिएका थिए। नेपाल प्रहरीले भने पहिलो पटक गोताखोरको तालिम लिएको हो। उनीहरूलाई उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रमाणपत्र वितरण गर्नु भएको थियो । प्रशिक्षणमा बर्दियाका गणेशबहादुर थापा पहिलो हुनु भएको छ । प्रशिक्षार्थीहरूले शारीरिक सहिष्णुता, डाइभिङ फिजिक्स, डिकम्प्रेसन, डाइभिङ डिजिज र डाइभिङ मेडिसिनको तालिम लिएका हुन् ।
यस्तै, डाइभिङ एड्मिनिस्ट्रेसन, एयर डाइभिङ, अन्डर वाटर सर्च टेक्निक, लाइफ सेभिङ टेक्निकलगायतबारे पनि प्रशिक्षण दिइएको थियो। तालिम सप्तकोशीको नदी, कास्की, पोखरास्थित फेवातालमा गरिएको थियो। बिहीबार त्रिशूलीमा आयोजित कार्यक्रममा उद्धारको डेमो समेत देखाइएको थियो। जसमा नदीमा बेपत्ता भएकाको गोताखोर, डोरीको प्रयोग, राफ्टिङको प्रयोग लगायत गरी उद्धार गरिएको थियो। यसरी सशस्त्र प्रहरीमा मात्रै गोताखोरको प्रशिक्षण लिने अहिलेसम्म ७४ जना छन्।
सशस्त्र प्रहरीले सुरूमा सन् २०१५ मा बंगलादेशबाट गोताखोरको तालिम लिएको थियो। त्यतिबेला २५ जना सशस्त्र प्रहरीले सो तालिम प्राप्त गरेका थिए। यस्तै विपद्का घटनाबाट सशस्त्र प्रहरी बलले अहिलेसम्म ८ सयभन्दा बढीको उद्धार गरेको छ ।