पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन

आर्थिक सोमवार जेष्ठ १५, २०८०

काठमाण्डाै – सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पर्यटन क्षेत्रका लागि चालु वर्षमा नाै अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आउँदाे आर्थिक वर्षका लागि साढे दुई अर्ब रुपैयाँ बजेट थप गरेर ल्याइएको छ ।

यस्तै सरकारले सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउने घोषणा गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचारप्रसार गरिने बताउनुभयो । यो अङ्ग्रेजी वर्षमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्‍याइने बजेटमा उल्लेख छ ।

त्यसैगरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ भन्ने नारासहित अभियान सञ्चालन गरिनेसमेत बजेटमा उल्लेख छ। स्थानीय जात्रा, संस्कृति, पर्व तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसार र अन्तर प्रदेश हवाई सेवा विस्तार गर्न प्रोत्साहित गरिने सरकारले जनाएको छ ।

Leave a Comment