सरकारले लामो समय देखि बन्द रहेको जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने बताउनुभएको हो ।
उहाँले केही समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरी घर जग्गा क्षेत्रको कारोबार बिस्तार हुने विश्वास लिएको बताउनु भयो । अर्थमन्त्री महतले महानगर र उपमहानगरमा वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गरिने घोषणा गर्नुभयो । उहाँले भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्याङ्कन प्रणाली कार्यान्वयनमा ल्याइने बताउनु भयो । डा. महतले सरकारले चालु आर्थिक वर्षको बजेटमा महानगरपालिकामा अनुमति प्राप्त ब्रोकर मार्फत घरजग्गा किनबेच गराउने घोषणा गरेकोमा उक्त कार्यक्रम भने कार्यान्वयन गर्ने बताउनु भयो । उहाँले सरकारले उत्पादन र रोजगार : समृद्धिको आधारको नारालाई आत्मसात गरी औद्योगिकीकरणको गतिलाई तिब्रता दिने बताउनु भयो ।
अर्थमन्त्री महतले औद्योगिक प्रवद्र्धधन, पूर्वाधार एवं मानव संसाधन विकास र असल औद्योगिक सम्बन्ध कायम गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिने बताउनु भयो । उहाँले उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताउनु भयो ।