गणतन्त्र दिवसका अवसरमा टीकापुर घटनाका दोषीको सजाय माफ गर्ने कार्यको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले भत्र्सना गरेको छ । इन्सेकले दण्डहीनतालाई प्रश्रय दिने कार्य नर्गन माग समेत गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा आज प्रेस विज्ञप्तिमार्फत यस्तो माग गरिएको हो ।
कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ गते एक नाबालकसहित आठजना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भई जेलमा रहेका व्यक्तिलाई सजाय माफीका लागि सिफारिस गर्नुले दण्डहीनतालाई प्रश्रय दिने इन्सेकले औँल्याएको छ ।
सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने कार्यविधि २०७१ ले कसैले आफूलाई भएको सजाय माफी, मुलतवी, परिर्वतन वा कम गराउन चाहेमा कारण खुलाई निवेदन दिन सक्ने उल्लेख छ । तर, भ्रष्टाचार, जबरजस्तीकरणी, सरकारी कीर्ते, सङ्गठित अपराध, युद्ध अपराध, क्रुर हिंस्रक वा विभत्स तरिकाले गरिएको हत्या, लागु औषध लगायतका अपराधमा सजाय कम नहुने कार्यविधिको दफा ३ मा स्पष्ट उल्लेख छ ।