काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रमुख दलका शीर्ष नेता दवावमा परेका छन् । छानबिन प्रक्रियामा अवरोध गर्न खोजेको आरोप लागिरहेका बेला भेटघाट बाक्लिएको छ । तर, प्रमुख तीन दलका शीर्ष नेताहरुले भने अनुसन्धानमा प्रहरीलाई कुनै पनि दबाब नदिने दाबी गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा छानबिन प्रक्रियामा कुनै अवरोध नगर्ने सहमति भएको हो ।
शीर्ष नेताहरुबीच तीन दिनदेखि लगातार छलफल हुँदै आए पनि नक्कली शरणार्थी प्रकरणबारे कुनै कुरा नभएको बताउँदै आएका थिए । यसले जनस्तरमा शीर्ष नेताहरु नै आफ्ना नेता बचाउन लागेको आशंका हुँदै आएको थियो । आजको छलफलपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले बाहिर हल्ला चलेजस्तो यो प्रकरणमा संलग्नलाई उम्क्याउनेबारे छलफल नगरेको दाबी गर्नुभयो । उहाँले अहिले प्रहरीले गरिरहेको अनुसन्धानमा कुनै अवरोध पुर्याउन नहुनेमा शीर्ष नेता सहमत रहेको बताउनुभयो ।
शीर्ष नेताहरुको छलफलमै केही समय सहभागी भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याउन शीर्ष नेता सहमत रहेको जानकारी दिनुभयो । कुनैपनि हालतमा दोषिलाई बचाऊ गर्ने काम नगर्ने गृहमन्त्रीको भनाई छ । कांग्रेसका केही नेताहरूले त गृहमन्त्रीलाई संयुक्त रूपमा भेटेर खुट्टा नकमाउन आग्रह गरेको बताइएको छ।
यस प्रकरणसँग सम्बन्धित एउटा अडिओमा देउवा पत्नी तथा सांसद आरजु राणालाई पनि रकम दिएको भन्ने सुनिन्छ। आरजु जोडिएपछि सभापति देउवा सबैभन्दा बढी तनावमा पर्नु भएको छ । तर फर्जी रूपमा आफ्नो नाम जोडिएको दाबी गर्दै आरजुले सत्य तथ्य सार्वजनिक गरी कारबाहीको माग सहितको उजुरी दर्ता गराउनु भएको छ ।