काठमाडौं । प्रतिनिधिसभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि आज सोमबारदेखि छलफल सुरु हुँदैछ । पूर्व बजेटबारे छलफलका लागि बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । संसदमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु हुने भएको छ ।
त्यसका लागि प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आ।व।२०८०र०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० माथि छलफल गरियोस् भनी आईतबार प्रतिनिधिसभा बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधि सभा बैठकमा आज देखि २७ गतेसम्म प्रि–बजेट छलफल हुने संसद सचिवालयले जनाएको छ ।
बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि–बजेटमाथि छलफल गर्ने र २७ गते अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम तय भएको छ । प्रतिनिधि सभाको बर्खे अधिवेशन अर्थात् बजेट अधिवेशन सुरु भएको पहिलो दिन (वैशाख २४ गते) नै अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्नु भएको थियो ।
आइतबारदेखि सुरु भएको संसद्को बर्खे अधिवेशनको मुख्य काम आगामी जेठ १५ गते नयाँ वर्षको बजेट पारित गर्ने हो । बजेटका प्राथमिकता, बजेट पूर्वको छलफल, मन्त्रालयगत शीर्षकमाथिको बहस लगायतका काम गर्नुपर्ने भएकाले यस अधिवेशनलाई बजेट अधिवेशनसमेत भन्ने गरिन्छ । यो अधिवेशनबाट संसद्ले मार्ग निर्देश गर्ने विषयलाई सरकारले ग्रहण गरेमा वित्त नीति र मौद्रिक नीतिबीच तालमेल गराउन सकिने आर्थिक क्षेत्रका विज्ञहरूको सुझाव छ ।
चालु आर्थिक वर्षको १० महिनामा सरकारको आम्दानी ७ खर्ब २३ अर्ब छ भने खर्च १० खर्ब १२ अर्ब पुगेको छ । निजी क्षेत्रको मनोबल गिर्दा राजस्व संकलन लक्ष्यको ५१ प्रतिशतमा खुम्चिएको छ । यो खाडल पुर्नका लागि उदार मौद्रिक नीति ल्याउन विज्ञहरूले सुझाव दिँदै आएका छन् । सरकारले आगामी वर्षका लागि आर्थिक गतिविधि चलायनमान गराउँदै फराकिलो र दिगो आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट ल्याउने तयारी गरेको छ ।