नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ पर्नुभएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाएको घटनामा पाण्डे पनि जोडिएपछि उहाँलाई पक्राउ गरिएको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका सचिव पाण्डे अहिले उपराष्ट्रपति कार्यालयको सचिव हुनुहुन्छ भने उहाँ यसअघि गृह मन्त्रालयको समेत सचिव भइसक्नुभएको छ । पाण्डेलाई पक्राउ गर्न प्रहरीले हिजो मङ्गलवार जिल्ला अदालत काठमाण्डौबाट पक्राउ पुर्जी जारी गरेको थियो ।
प्रहरीका अनुसार सचिव पाण्डे गृह सचिव भएकै बेला नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहसँग लेनदेनमा सक्रिय भएको अनुमान छ । पाण्डे २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
यसै घटनामा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरिसकेको छ ।