पत्रपत्रिकामा पोको पारेर खानेकुरा बेच्न नपाइने

समाज मङ्लबार बैशाख १९, २०८०

सरकारले सडक खाद्य बस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपर (पत्रपत्रिकामा ) प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका लागि खतरनाक असर पार्ने रसायनहरू पत्रपत्रिकामा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरु गरिएको बताउनु भयो । ‘हामीले तुरुन्तै गर्न सक्ने एउटा कुरा चाँहि टडकारो रुपमा देखिएको र खड्केको कुरा चाँहि जुन न्युज पेपरमा चटपटे, पानीपुरी लगायतको प्याक गरेर खाने जुन चलन छ । त्यसलाई तुरुन्तै हटाउनुपर्ने देखिन्छ’, उहाँले भन्नुभयो ।

मङ्गलबारबाट काठमाडौंमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सस्तो र मिठो हुने भएकाले स्ट्रिट फुडको उपयोग बढ्दै गइरहेको उल्लेख गर्दै त्यसमा स्वच्छता ल्याउन सरकारले प्रिन्टिङ पेपरको प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको पनि स्पष्ट पार्नु भयो ।

महानिर्देशक वैद्यले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहसँग मिलेर अघि बढाएको बताउनु भयो । खाद्य स्वच्छताका लागि स्ट्रिट फुड र तरकारी तथा फलफूल बजार अनुगमनको कामलाई अझै तीव्रता दिन लागिएको पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

Leave a Comment