काठमाडौ । सशस्त्र प्रहरी बलले सादा पोशाकमा सशस्त्र प्रहरी कर्मचारी परिचालन नगर्ने नीति अख्तियार गरेको छ । आज सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा आयोजित पत्रकार सम्मेलनमा शसस्त्र प्रहरी प्रवक्ता एसएसपी राजेन्द्र खड्काले सीमा क्षेत्रबाट गुनासो आउन थालेपछि सादा पोशाकमा कर्मचारी नखटाउने निर्णय गरिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा शसस्त्र प्रहरीले पाहुनाको स्वागतका लागि खादा र फूलको खरिदलाई निषेध गरेको पनि जानकारी दियो । सरकारको अनावश्यक खर्च नगर्ने नीति अनुसार आगन्तुकको स्वागतका लागि खादा र फूल खरिद नगर्ने नीति अख्तियार गरिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी कर्मचारीहरुलाई कुटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँगको भेटघाटलाई पनि कडाइ गरिएको छ । शसस्त्र प्रहरीले मिशन छनौट निर्देशिका संशोधन गरि सेवा अवधिका आधारमा मिसनमा सहभागी हुन पाउने व्यवस्था गरिएको जनाएको छ । प्रहरी प्रवक्ता खड्काका अनुसार सशस्त्र प्रहरी कर्मचारीहरुको आधारभूत आवश्यकतामा विशेष जोड दिइएको छ । महिला कर्मचारीको सुविधाका लागि ७० युनिटहरुमा शिशु स्याहार केन्द्र स्थापना भइसकेको पनि शसस्त्र प्रहरीले जनाएको छ । प्रधान कार्यालयमा अनुगमन तथा गुनासो व्यवस्थापन ईकाइ स्थापना गरिएपछि विभिन्न माध्यमबाट आएका ५२० गुनासामध्ये ५१८ फच्र्यौट भइसकेको छ भने २ वटा छानविनको क्रममा रहेको शसस्त्र प्रहरीले जनाएको छ । शसस्त्र प्रहरीले एपिएफ स्कूललाई सबै प्रदेशमा विस्तार गर्ने तयारी गरिरहेको समेत जानकारी दिएको छ ।
शसस्त्र प्रहरी बलले सादा पोशाकमा प्रहरी परिचालन नगर्ने
