सरकारले अझै पूर्णता पाउन सकेन, प्रधानमन्त्री अलमलमा, कांग्रेसमा विवाद

मुख्य खबर रन्जना पौडेल आइतवार बैशाख १७, २०८०

काठमाडौं । प्रधानन्त्री नियुक्त भएको तीन महिना नपुग्दै दुई पटक विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृतवको सरकारले अझै पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धन दलको सबैभन्दा ठुलो घटक नेपाली कांग्रेसले आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्री पठाउन नसक्दा प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता दिन नसक्नु भएको हो । प्रधानमन्त्रीले सरकारलाई पूर्णता दिन कांग्रेससँग मन्त्रीको नाम मागेपछि अहिलेसम्म नदिएको कारणले ढिलाइ भएको माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको भनाइ छ ।

गठबन्धन दलमा पूर्व सहमति अनुसार अब कांग्रेसबाट ३ जना मात्रै मन्त्री बन्न बाँकी रहेको छ । प्रधानमन्त्रीले जनमतले छाडेको खानेपानी मन्त्रालयमा उसैलाई फर्काउन पहल गगरीरहनु भएको आर्चायले बताउनु भयो । त्यसो त प्रधानमन्त्रीले रवि लामिछाने नेतृत्वको रास्वपालाई पनि सरकारमा ल्याउन पहल गरिरहेनु भएको छ ।

आजै मात्र प्रधानमन्त्रीले रास्वपा सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गर्नु भएको छ । तर, रास्वपाले न्यूनतम साझा कार्यक्रमबाट आफ्नो एजेण्डा हटाएकोप्रति आपत्ति जनाउँदै प्रतिपक्षमा बस्ने मनस्थिति बनाइसकेको बताइएको छ । यस्तै, सरकारलाई पूर्णता दिने विषयमा शीर्ष तहमा छलफल भइरहेको कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो । मन्त्रीहरूको शपथ राष्ट्रपतिबाटै गराउने प्रचलन भएकाले केही दिन ढिलाइ भएको हुनसक्ने उहाँको बुझाइ छ ।

कांग्रेसमा शेखर गगनसमुहको अडान
कांग्रेसबाट सरकारमा उपप्रधानसहित रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल, परराष्ट्रमन्त्रीमा एनपी साउद र सहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका छन्। अब कांग्रेसबाट तीन मन्त्री मात्रै पठाउने गठबन्धनमा सहमति छ ।

तर, इतर समूहले यसअघि पनि तीन मन्त्रालय नपाएकै कारणले मन्त्रीको नाम पठाएको थिएन। शेखर कोइराला र गगन थापा समूहले तीन मन्त्रालय नपाएर सरकारमा नजाने अडान लिएपछि देउवाले पार्टीभित्रै व्यवस्थापनका लागि जनमतले छाडेको मन्त्रालय दाबी गरेका हुन्। तर इतर समूहले पनि अब आफूहरूले तीन मन्त्री र एक राज्यमन्त्री पाउने निश्चित भएको भन्दै सरकारमा पठाउने मन्त्रीको नाम टुंगाइसकेको छ।

इतर समूहबाट उपसभापति धनराज गुरुङ, मोरङ १ डिगबहादुर लिम्बु र कपिलवस्तु २ का सुरेन्द्र आचार्य र राज्यमन्त्रीमा जाजरकोटकी मैना रावल कार्की पठाउने तयारी छ। यस्तै, दुई मन्त्रालय भागमा परेको जसपाले शिक्षा मन्त्रालयमा अशोक राईलाई पठाएपनि वन तथा वातावरण अझै खाली छ। बारा २ बाट उपनिर्वाचनबाट जितेर आएका जसपा अध्यक्ष उपेन्द्र यादव आफै उपप्रधानसहित सरकारमा जान उक्त मन्त्रालय रिक्त राखेको बताइएको छ । जनमतका अब्दुल खानले राजीनामा दिएपछि खानेपानी मन्त्रालय पनि प्रधानमन्त्रीको काँधमा छ ।

Leave a Comment