उपनिर्वाचन भएका तीन स्थानमा मतदान सकिएको छ । चितवन क्षेत्र नम्बर -२, तनहुँ क्षेत्र नम्बर-१ र बारा क्षेत्र नम्बर-२ को उपचुनावमा सामान्य घटनाबाहेक शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो ।
तीन वटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चलेको थियो । चितवनका दुई वटा मतदान केन्द्रमा केहीबेर मतदान रोकिएको थियो भने बारामा केही व्यक्ति पक्राउ परेका थिए ।
प्रारम्भिक विवरणअनुसार चितवन र बारामा ६०/६० प्रतिशत मतदान भएको जनाइएको छ । बाराका निर्वाचन अधिकृत मुकेश उपाध्यायले शान्क्तिपुर्ण वातावरणमा मतदान सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले मतदान सफल बनाउन सहयोग गर्नै सबै पक्षलाई धन्यवाद् व्यक्त गर्नुभयो ।
तनहुँमा ५१.७० प्रतिशतको हाराहारीमा मत खसेको तनहुँका निर्वाचन अधिकृत हरि ढकालले बताउनुभयो ।
तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति, बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएसँगै त्यहाँ नयाँ सांसदका लागि उप–चुनाव भएको हो । चितवन–२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद नागरिकता विवादमा सर्वोच्च अदालतले खारेज गरिदिएपछि पुनः चुनाव भएको हो ।






