भोलि हुने उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा अन्तर्गत तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनका लागि मतदानस्थत, सुरक्षाकर्मी, मतपेटीका संकलन केन्द्र लगायतका सम्पूर्ण तयारी पुरा भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।
मतदाताले भोली बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्न पाउनेछन् । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले विशेष सजगता अपनाइएको आयोगको भनाइ छ । उपनिर्वाचनको मतदानका लागि मतदान केन्द्रहरू तयार भएकाले निर्धक्क भएर मतदान गर्न सकिने सहप्रवक्ता अर्यालले नेपाल एफएम नेटवर्कलाई बताउनुभयो ।
निर्वाचन हुने क्षेत्रमा के छ तयारी ?
तनहुँ–१
तनहुँ–१ मा नेपाली कंग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, सहित ९ वटा पार्टीका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मतदान केन्द्रहरूमा अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, अशक्त अवस्थाका मतदाताका लागि सहज व्यवस्था मिलाइएको तनहुँका निर्वाचन अधिकृत हरि ढकालले नेपाल एफएम नेटवर्कसँग बताउनुभयो ।
तनहुँ १ मा ५ पालिकाका ४२ वटा वडामा मतदान हुनेछ । मतदानका लागि ६९ मतदान स्थल र १५२ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन गराउन १३ सय ६८ जना कर्मचारी खटिएका छन् । त्यस्तै सुरक्षाका लागि २ हजार ५ सय सुरक्षाकमी खटिएका छन् ।
चितवन–२
चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमालेसहित १२ वटा दलका उम्मेदवार र १२ जना स्वतन्त्र गरी २४ जना चुनावी प्रतिस्पर्धामा छन् । चितवनमा पनि निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँँले १३ सय भन्दा बढी नेपाल प्रहरी, नेपाली सेना ४ सयको हाराहारीमा खटिने छन् भने, सशस्त्र प्रहरी ३ सय बढी खटिने प्रमुख जिल्ला अधिकारी पौडेललको भनाई छ ।
बारा –२
बारा –२ मा प्रमुख दलका उम्मेदवार सहित ३६ जनाको उम्मेदवारी परेको छ । वारामा पनि शान्ति सुरक्षा, मतदानस्थल, मतगणनास्थलको पनि तयारी पूरा भएको बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो । उहाँले भोली पुर्व पश्चिम राजमार्ग सुचारु रहने र अन्य जिल्ला भरका छोटा दुरीका सवारी बन्द गर्ने जानकारी दिनुभयो ।
३ स्थानको उपनिर्वाचनका लागि ५७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । मतपेटीकाहरू संकलन गरीसकेपछि सर्वदलीय बैठक बसेर मतगणना सुरू गर्ने बताइएको छ । मतगणना सुरू भएको दुई दिनभित्र गणना सक्ने तयारी भएको निर्वाचन आयोगको तयारी छ ।