आउँदो वैशाख १० गते उपचुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन हुने चितवन, बारा र तनहुँ जिल्लाभर आचार संहिता लागु हुने निर्वाचन आयोगले जनाएको छ ।
सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उनीहरुका भ्रातृ सङ्गठन, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मी, शिक्षक लगायतलाई आचारसंहिता लाग्ने आयोगले बताएको हो ।
आयोगले आचारसंहिता प्रभावकारी कार्यान्वयन गर्न/गराउन निर्देशनसमेत दिएको छ ।
केन्द्रीय आचारसंहिता अनुगमन समितिको बिहिबार बसेको बैठकले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न/गराउन गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय एवं सम्बन्धित जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन सामाजिक सञ्जालमा गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रवाह नगर्न, कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै किसिमका सामग्री उत्पादन, प्रकाशन र प्रसारण नगर्न/नगराउन तथा यस्ता सामग्रीमा शेयर, लाइक वा कमेन्ट नगर्न/नगराउन पनि आयोगले सबैमा आह्वान गरेको छ ।